बन्दीपुरमा रहेका चेपाङ बस्तीको मुहार फेर्दै जनप्रतिनिधि

तनहुँ : तनहुँ बन्दीपुर गाउँपालिकामा रहेका सीमान्तकृत चेपाङ जातिको आर्थिक तथा सामाजिक जनजीवनमा परिवर्तन ल्याउनका लागि यहाँका जनप्रतिनिधिहरु सक्रिय भएर लागेका छन् । बन्दीपुर गाउँपालिका–१, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत चेपाङ जातिको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउनका लागि यहाँका जनप्रतिनिधि रनबहादुर भुजेल सक्रिय भएर लागेका हुन् ।

आर्थिक, सामाजिक, शैक्षिक र जनचेतनाको अभावमा यहाँका चेपाङ बस्तीमा उमेर नपुग्दै विवाह हुने, बालबालिका अध्ययन गर्न नजाने, गएकाले पनि बीचैमा विद्यालय छाड्नेलगायतका समस्या रहेको देखिएपछि गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएका रनबहादुरले ती समस्याको न्यूनीकरणका लागि सक्रिय भएर लागि रहनुभएको छ ।

उहाँको सक्रियताले चेपाङगाउँ, खहरेमा बसोबास गर्दै आएका ५३ घरपरिवार चेपाङ समुदायका जीवनशैलीमा यतिखेर आमूल परिवर्तन हुँदै आएको छ । सीमान्तकृत चेपाङ समुदायको जीवनस्तरमाथि उकास्नका लागि उहाँले पु¥याउनुभएको योगदानलाई हेरेर बन्दीपुर गाउँपालिकाले रनबहादुरलाई त्यो गाउँपालिकाको कार्यपालिका सदस्यमा चयन गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

“सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा सहभागी गराउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि उहाँलाई कार्यपालिकाको सदस्यमा निर्विरोध चयन गरेका हौँ”, अध्यक्ष थापाले भन्नुभयो, “सदस्य रनबहादुरले घर घरमा पुगेर २० वर्ष पुगेपछि मात्रै सरकारले विवाह गर्न पाउने प्रावधान ल्याएको, चाँडै विवाह गर्दा र शिक्षाको कमीले हुने हानिनोक्सानी बारेमा जनचेतना पैmल्याउने तथा आर्थिकोपार्जन गर्ने तरिकाले सिकाउने सम्बन्धमा तालीम दिई छोटो समयमा नै उनीहरुको जीवनस्तरमा आमूल परिवर्तन भएको देखिएको छ ।”

राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रुपमा पिछडिएका चेपाङ समुदाय अहिले हेरक क्षेत्रमा समाजिकीकरण हुँदै गएको छ । शिक्षाको पहुँचबाट टाढा रहेका कारण सो गाउँपालिकामा ती समुदायबाट एक जनाले पनि एसइई परीक्षा उत्तीर्ण गर्न सकेका छैनन् । जनप्रतिनिधिको निरन्तर प्रयास र आफ्ना बालबालिकालाई विद्यालय शिक्षा दिनुपर्छ भन्ने चेतना जागेपछि अहिले ती समुदायका बालबालिका विद्यालय जान थालेका छन् ।

गाउँपालिकाबाट सञ्चालित आयआर्जन र क्षमता विकासका तालीम लिएपछि अहिले उनीहरु गिट्ठा, भ्याकुर, सिबलिकान, तरुल, वन तरुल जस्ता तरकारी बिक्री गरेर घर खर्चसमेत चलाउँदै आउनुभएको गाउँपालिकाका प्रवक्ता एवं वडा १ का अध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । ती समुदायको उन्नयनका लागि गाउँपालिकाले चेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि अहिले उनीहरु हेरक क्षेत्रमा अगाडि बढ्दै आएको उहाँले बताउनुभयो ।

बन्दीपुर पिछडा वर्ग सञ्जाल उपभोक्ता समितिका अध्यक्ष गोविन्दबहादुर भुजेलले सीमान्तकृत जातिबाटै जनप्रतिनिधि बनेकाले चेपाङ भाषामै बोलेर भन्न सक्ने हुँदा उनीहरु सजिलै सिक्ने, बुझ्ने, आफ्नो समस्या राख्ने भएपछि परिवर्तनको पथमा आगाडि बढ्न थालेको बताउनुभयो ।

जङ्गलको बीचको बस्तीमा बसेका चेपाङहरु जङ्गली कन्दमूल खाने, वन्यजन्तु मारेर खाने र अन्य जातिका मानिससँग घुलमिल गर्न नचाहने स्वभावका कारण उनीहरु पछाडि परिएको वडा नं १ का वडा सदस्य टेकबहादुर रानाले बताउनुभयो । गाउँपालिकाले प्रदान गरेको जनचेतनामूलक विभिन्न कार्यक्रमका कारण वर्षौंदेखि भोग्दै आएको बालविवाह, अनमेल विवाह, बहुविवाह र धेरै सन्तान जन्माउने जस्ता समस्या ती समुदायमा अहिले हट्दै गएको स्थानीयवासी ३० वर्षीय नक्कलमाया चेपाङले बताउनुभयो । रासस


प्रकाशित | १७ असार २०७६, मंगलवार १५:१७