सिरहामा सवारी दुर्घटना, ३ को मृत्यु

सिरहा : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत लहान–११ पड्रिया चोकमा सोमबार अपरान्ह ट्रकले भ्यानलाई ठक्कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको भ्यान पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेको अवस्थामा यही दिशाबाट आइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनाका घाइतेहरुको लहानमा रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नर्सिङ होमहरुमा उपचार भैरहेको छ । गम्भीर अवस्थाका ६ जना घाइतेलाई थप उपचारको लागि धरान पठाएको प्रहरीले जनाएको छ ।दुर्घटनामा १२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् भने एकजनाको अवस्था चिन्ताजनक छ ।

शव पोष्टमार्टमको लागि लहानस्थित राउस्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

 


प्रकाशित | १६ असार २०७६, सोमबार १८:३४