त्रिशूली जीप दुर्घटना अपडेट : ज्यान गुमाएका तीन जनाको पहिचान खुल्यो , तीन जना अझै बेपत्ता

रसुवा : मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ । पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नम्बरको टाटासुमो मैलुङ–स्याँफ्रुबेशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटनामा परेको हो । सो जीप सडकबाट करिब एक सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार, दुई जनाको घटनास्थलमा तथा एक जनाको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेका छन् ।

दुर्घटनामा आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले बेपत्ता रहेका छन् । प्रहरी नायव निरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले अहिले वेपत्ताको खोजी गरिरहेको छ ।

गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, पाँच वर्षीया फुर्वु याङजेन तामाङ र तीन वर्षीय निम छेवाङ तामाङ रहेका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको त्रिशुली अस्पतालले जनाएको छ । टाटासुमोमा सवार सवै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा हुन् ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १०:२९