प्रविधि भित्याउँदै अमेरिकामा बस्ने नेपाली विद्यार्थी सुशन: बनाए सेन्सर जडित ‘ग्यास चुल्हो’

काठमाडौंं: गैर आवासीय नेपालीले सिकेको ज्ञान, सिप र विदेशी प्रविधिलाई नेपाल भित्र्याउने प्रयासस्वस्प पहिलो पटक विज्ञ सम्मेलन आयोजनापछि यसको चर्चा परिचर्चा फैलंदै छ । विशेष गरि गैर आवासीय नेपालीको माध्यमबाट विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्र्याउन सरकारले विदेशमा बस्ने नेपालीको साझा संस्था एनआरएनएमार्फत पहलकदमी शूरु गरिरहेको छ । गत अक्टोवर २०१८ मा आयोजना गरिएको विज्ञ सम्मेलन यसैको एउटा शूरुवात पनि हो ।

सरकारले आर्थिक सम्मृद्धिको कुरा गरिरहँदा यसलाई सबल बनाउने तत्वको रुपमा प्रविधिलाई लिइएको छ । विदेशी प्रविधिको माध्यमबाट नेपालको सम्मृद्ध सम्भव छ र त्यो काम गैर आवासीय नेपालीको माध्यमबाट भित्र्याउनुपर्छ भन्ने विषयमा छलफल प्रारम्भ गरिएको छ ।

त्यसै सिलसिलामा काठमाडौंको चन्द्रागिरी नगरपालिका—१४ नयाँनैकामा जन्मेर अमेरिकाको नर्थ क्यारोलिना राज्यको नर्थ क्यारोलिना स्टेट विश्वविद्यालयमा कम्प्युटर सफ्टवेयर इन्जिनियरिंग विषयमा स्नातक अन्तिम वर्षका विद्यार्थी सुशन बस्नेत एक उदाहणीय पात्र बनेका छन् । नैकापको ब्राइट फ्युचर बोर्डिंग स्कुलमा ५ कक्षाको पढाई सकेर आफ्ना बुबा सहदेव, ममी सुधा र बहिनी सोनुसंग सन २००८ मा क्यानाडा गएका सुसन केहीवर्षदेखि सपरिवार नै अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । यसअघि गतवर्ष सुशनले रिमोट कन्ट्रोल कार बनाएका थिए । सपरिवार अमेरिकामा बस्दै आएका सुशन केहि समयको लागि नेपाल भ्रममा आएका छन् । साही अवसरमा उनले नेपाली गृहिणीका लागि निकै उपयोगी हुने प्रविधियुक्त स्वचालित चुल्हो (भान्छा सहयोगी) बनाउँदै प्रविधि भित्याउने कार्यको थालनी गरेका छन ।

बस्नेतले अबको चार महिनामा सो चुल्होले प्याटेन्ट राइट अर्थात स्वामित्व अधिकार पाएपछि त्यसको उत्पादनको लागि बाटो खुल्ने र नेपाली गृहिणीहरुको भान्छासम्म आइपुग्ने बताएका छन् । उनको विश्वविद्यालयले उनलाई यसलाई सकारात्मक मान्दै यसलाई ‘ग्रीन सिग्नल’ दिइसकेको छ ।  आफु पढेको नर्थ क्यारोलिना स्टेट विश्वविद्यालयको लागि २१ वर्षे नेपाली विद्यार्थी बस्नेतले टाइमर, भाइब्रेटर र सेन्सर मार्फत खाना पकाउने ग्यास चुल्होमा आगोको राप घटबढ गराउन सकिने, चुल्हो खोल्न÷बन्द गर्न सकिने र स्वतः नियन्त्रण हुने प्रविधियुक्त स्वचालित ग्यास चुल्हो बनाइराखेका हुन । ‘पहिलो चरणको काम सकेर यसको काम पनि हेरिसकिएको छ, यसलाई फाइनल टच दिन मात्रै दिन बाँकी छ’, बस्नेतले भने ।

माइक्रो कन्ट्रोलर, इन्फ्रारेड सेन्सर र भाइब्रेटरको प्रयोग गरि उनले तयार गरिराखेको प्रविधियुक्त स्वचालित ग्यास चुल्होमा कुनैपनि भाँडामा राखेर पकाएको झोलजन्य पदार्थ, दुध चिया, दाल, पानी कहिल्यैपनि उम्लेर नपोखिने उनको दावी छ । पकाउने भाँडामा जडान हुने भाइब्रेटर, चुल्होको केही माथि राखिने माइक्रो कन्ट्रोलर र सेन्सरले उम्लिन लागेको झोलजन्य खानेकुरालाई उम्लेर पोखिन नदिने र सोही अनुसारको आगोको राप मिलाउने र खानेकुरा पाकेपाछि ग्यास चुल्हो आफै बन्द हुने व्यवस्था बस्नेतले गर्न लागेका छन् ।

झोलजन्य पदार्थ उम्लेर खेर नजाने, अण्डा उसिन्दा त्यसको थर्काहटले निश्चित अवधिमा अण्डा पाकेपछि चुल्हो आफैं बन्द हुने, अरु खाना पनि पाकेपछि चुल्हो आफैं बन्द हुने लगायतको विशेषताले गर्दा यसप्रकारको ग्यास चुल्हो नेपाली समाजको लागि निकै सुरक्षित हुने विद्यार्थी बस्नेतले बताए । ‘समय, ग्यासको वचतको साथै अरु ग्यास चुल्होको तुलनामा यो बढी सुरक्षित हुन्छ’, उनले भने ।

त्यतिमात्रै नभई मोबाइल एप बनाएपछि टाइमर र सेन्सर प्रविधि जडित ग्यास चुल्होमा खाना बसालेर घरबाहिरको काम पनि भ्याउन सकिने छ । आफुले बनाएको प्रविधियुक्त ग्यास चुल्होको प्याटेन्ट राइट लिएपछि यसलाई ठुलो मात्रामा उत्पादन गरि नेपाली गृहिणीहरुको लागि सस्तो मुल्यमा विक्री गर्ने आफ्नो योजना रहेको युवा विद्यार्थी बस्नेतले बताए ।

 


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार २०:०२