भक्तपुर : सूर्यविनायकमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शूरु भएको छ । सुनपा ४ स्थित हर्षचोकमा आयोजित प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले सूर्यविनायकमा राष्ट्रब्यापी भलिबल प्रतियोगिता आयोजना गरिएकोमा खुसी ब्यक्त गर्नुभयो ।

नगरपालिकाले विकास निर्माणसँगै खेल क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर अगाडि बढाइरहेको जानकारी गराउनुभयो । ओम सृजनशील समाजका अध्यक्ष अर्जुन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा र कार्यक्रम संयोजक पेशल आचार्यले पनि सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रम संयोजक आचार्यका अनुसार प्रतियोगितामा विभिन्न जिल्लाका १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता सोमबारसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।

सोही अवसरमा हालै नेपालमा अन्तराष्टिय महिला भलिबल प्रतियोगिताको नेपाली टिममा परि कास्य पदक पाउन जित्न सफल राष्ट्रिय महिला भलिबल नेपाल पुलिस क्लवका टिम तथा नेपाली राष्ट्रिय टिमका खेलाडीहरुलाई सम्मान गरिएको छ । सम्मानीत हुनेमा इम राना मगर, विशाल विक, उषा भण्डारी, कामना बिष्ट, सान्तिकला तामागं, पुनम चन्द र रुपेश कुमार विष्ट रहनु भएको छ ।

ओम सृजनशील समाजको आयोजनामा भएको कार्यक्रम सूर्यविनायक नगरपालिकाको समन्वयमा आयोजना गरिएको हो । कार्यक्रममा मुख्य प्रायोजकको रुपमा लक्की आलमोनियम रहेको छ ।

प्रकाशित | २७ जेष्ठ २०८०, शनिबार २०:२४