ठेकेदारलाई दिएको भन्दा उपभोक्ता समितिमार्फत् बनेका सम्पदाहरू गुणस्तरीय: मेयर प्रजापति

भक्तपुर: भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत् बनेका सम्पदाहरू गुणस्तरीय हुने र स्थानीय जनताको अपनत्व रहने बताउनुहुँदै सम्पदा र भौतिक निर्माण उपभोक्ता समितिमार्फत् गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा बिहीबार विश्व सम्पदा क्षेत्र संरक्षण तथा विकास कार्य र पम्परागत सम्पदा बस्ती पुनःनिर्माण कार्यक्रमसम्बन्धी जनप्रतिनिधिहरू, सम्पदा विज्ञहरू र परामर्शदाताहरूसँग छलफल कार्यक्रममा बोल्नुहुँदै मेयर प्रजापतिले सो बताउनुभएको हो ।

भूकम्पमा भत्केका भक्तपुरका केही सम्पदाहरू निर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणकै क्रममा रहेको जानकारी गरानुहुँदै प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिएको खण्डमा पुनःनिर्माणको काम छिटो हुने बताउनुभयो ।

प्रमुख प्रजापतिले सम्पदा निर्माणमा राज्यले आवश्यक काठ उपलब्ध गराउनुपर्ने, बजेटको बन्दोबस्त गर्नुपर्ने र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिंदै सांस्कृतिक सम्पदाहरू मौलिक स्वरुपमा पुनःनिर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदा पुनःनिर्माण गर्दा अनुसन्धान र मौलिक शैलीलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको पनि उहाँले बताउनुभयो ।

सांस्कृतिक सम्पदास्थलमा देखिएको दृश्य प्रदूषण हटाउनको लागि अव्यवस्थित तार भूमिगत गर्नुपर्ने र मूर्त–अमूर्त सम्पदा संरक्षणमा प्राधिकरणको ध्यान जानु आवश्यक भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काठमाडौं उपत्यकाका सम्पदा क्षेत्र पुनःनिर्माण कार्यमा ढिलाइ भइरहेको स्वीकार्दै प्राधिकरणले विपद्लाई अवसरको रुपमा प्रयोग गरी पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

उहाँले परामर्शदाताहरू जिम्मेवार व्यक्ति भएकोले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न जोड दिंदै प्राधिकरणको काममा सबै निकायले समन्वय र सहयोगी भूमिका निर्वाह गर्नेमा आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका चन्द्रबहादुर श्रेष्ठ र उपत्यकाका विभिन्न सांस्कृतिक क्षेत्रका परामर्शदाताहरूले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार २०:३८