प्रिमियर लिगमा आज लेस्टर सिटी र म्यानचेस्टर सिटी भिडदै

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक महत्त्वपूर्ण खेल हुँदैछ । लिग सकिन लग्दा उपाधि होड पेचिलो बनिरहेका बेला आज दुई सिटी भिड्दैछन् ।आज साबिक विजेता तथा हाल लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र लिगको नवौं स्थानमा रहेको लेस्टर सिटी लिगको ३७औं साताको खेलमा भिडन्त गर्दैछन् । यो खेलका लागि म्यानचेस्टरले लेस्टरलाई आफ्नो घरमा स्वागत गर्दैछ ।

हाल लिगमा म्यानचेस्टर ३६ खेलबाट ९२ अंक जोडेर दोस्रो स्थानमा छ । ऊ एक खेल बढी खेलेको लिभरपुलभन्दा २ अंकले पछि छ । हालको अवस्थामा म्यानचेस्टरको भिडन्त लिभरपुलसँग हो ।म्यानचेस्टरले आज रातिको सहित लिगको अन्तिम खेल जितेको खण्डमा लिभरपुललाई पछि पार्दै उपाधि जित्छ भने लिभरपुलले उपाधि जित्न म्यानचेस्टरले बाँकी २ मध्ये एक खेल हार्नुपर्छ वा बराबरीमा रोकिनुपर्छ । नत्र म्यानचेस्टरले लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जित्छ ।

यस्तो चर्को प्रतिस्पर्धाबीच सिटी म्यानचेस्टर आज आफ्नो घरमा लेस्टरसँग खेल्दा ठूलो दबाबमा हुनेछ । उपाधि होड कायमै राख्न उसले आज स्पष्ट जित निकाल्नुपर्छ । पराजित भएको खण्डमा वा बराबरीमा रोकिए उसको हातबाट लिभरपुलले उपाधि खोस्न सक्छ ।तुलनात्मक रूपमा म्यानचेस्टरका लागि अन्तिम खेलभन्दा यो खेल कठिन मानिएको छ । लिगको पूर्वविजेता समेत रहेको लेस्टरलाई हराउन सके म्यानचेस्टरको उपाधि जित्ने सम्भावना बलियो बन्छ ।

लिगको अन्तिम खेलमा म्यानचेस्टरले ब्राइटन र उता लिभरपुलले अन्तिम खेलमा उल्भ्ससँग खेल्नेछन् । लिभरपुलका लागि अन्तिम खेलमा उल्भ्स चुनौती बन्नसक्छ ।लेस्टर आज म्यानचेस्टरलाई उसकै घरमा हराएर उसको उपाधि सपना चकनाचुर पार्ने दाउमा छ । खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै लेस्टरका कोचले म्यानचेस्टरलाई कम्तीमा बराबरीमा रोकेर देखाउने बताएका छन् ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार १९:०८