प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट शुरु हुने

काठमाडौं :  दोस्रो संस्करणको योनेक्स सनराईज प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला वरीयता ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ गते सोमबारबाट सुरु हुने जनाएको हो ।

संयोजक सुबाश श्रेष्ठले प्रतियोगिता बैशाख १ गतेसम्म संचालन हुने जानकारी दिए । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा देशभरका जिल्ला, क्लब र तीन विभागीय टोलीका खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा ३०० खेलाडीको सहभागिता हुनेछन् ।

प्रतियोगिता पुरुष एकल (खुला), महिला एकल (खुला), पुरुष युगल (खुला), यू-१५ पुरुषरमहिला, यू-१९ पुरुषरमहिला, मास्टर्स खुला ४५ वर्षमाथि र मास्टर्स खुला ५५ वर्षमाथि गरि कुल ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

एकलतर्फ पुरुष र महिलाको विजेताले १ लाख १५ हजार, दोस्रोले ५५ हजार र तेस्रोले १५ हजार पाउने छन् । यू-१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउने छन् ।

यू-१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय पाउने छन् । पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार पाउने छन् ।

मास्टर्स खुला ४५ वर्षमाथिको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउने छन् । मास्टर्स ५५ वर्षमाथिको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।


प्रकाशित | २६ चैत्र २०७८, शनिबार १८:४०