समुद्री आँधी फानी : नेपालमा पनि प्रभाव , सावधानी अपनाउन आग्रह

काठमाडौं :  फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ।  अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा राज्यतिर बढिरहेको छ। फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ। त्यो ओडिशाको तट हुँदै बांग्लादेशतर्फ लाग्नेछ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।

नेपालमा कस्तो प्रभाव पर्ला?

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ। उनले भनिन्, “भोलि पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ।” बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्। फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ।

नेपालको मौसम विभागले पनि पूर्वानुमान अनुसार शुक्रवार अपरान्हपछि सो आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने जनाएको छ।  भूउपग्रहबाट खिचिएको यो तस्बिरमा बङ्गालको खाडीमा समुद्री आँधी फानी देखिन्छ । सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो।

हिमपात र हिमपहिरोमा परेर कम्ती तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो। हुदहुदको प्रभावका कारण भएको हिमपातका कारण नेपालमा मानवीय क्षति भएको थियो गत महिना नेपालको बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीमा धनजनको ठूलो क्षति भएको थियो। नेपालको मौसम विज्ञान विभागले सो हावाहुरी टोर्नेडो भएको बताएको छ ।बीबीसीको सहयोगमा


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार ०९:१७