संरक्षक परिषद्ले संस्थालाई निकास दिनेमा विश्वस्त छु : सोनाम लामा

काठमाडौं –  गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संस्थाभित्र देखिएका विकृति र विसंगतिलाई हटाउँदै विधानमा टेकेर अगाडि बढनुपर्नेमा जोड दिनुभएको छ । लामाले संस्थाको विधानभन्दा माथि कोही पनि नहुने बताउँदै विधानलाई टेकेर अगाडि बढ्नुपर्ने बताउनु भएको हो ।

परराष्ट्र मन्त्रालयले सोमबार एनआरएनएको निर्वाचन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएपछि विश्व सन्देशसँग कुराकानी गर्दै लामाले विगतका कमीकमजोरी सुधारेर संस्थालाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । एनआरएनएले सरकारसँग मिलेर काम गर्नुपर्ने बताउँदै उहाँले विधी र पद्धतिअनुसार अगाडि बढ्न नसक्दाको परिणाम संस्थाले अहिले भोगिरहेको पनि बताउनु भयो ।

उपाध्यक्ष लामाले अहिलेको विवाद विदेशमा १८३ दिन बस्ने नेपाली र विद्याथीलाई मान्यता दिनुपर्छ भन्दा आएको बताउनु भयो । नेपाल सरकारले विदेशमा दुई वर्ष बसेकालाई मात्र मान्यता दिएकोमा एनआरएनए नियमावलीमा विधानमा गरिएको ब्यवस्थाविपरीत १८३ दिन बसेका र विद्यार्थीलाई समेत मान्यता दिदा अहिलेको समस्या आएको उहाँको भनाई छ ।

साथै उहाँले अहिलेको लडाई विदेशमा दुई वर्ष बसेकालाई मान्यता दिने कि १८३ दिन र विद्यार्थीलाई मान्यता दिने भन्ने विवादको मुख्य जड रहेको बताउनु भयो ।  परराष्ट्रमा दर्ता भएको संस्थाले परराष्ट्रको निर्णय अवज्ञा गर्दा संस्थाको दर्ता खारेजी हुन सक्नेतर्फ पनि सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

साथै उहाँले संरक्षक परिषद्ले गल्ती कमी कमजोरी सच्याएर संस्थालाई सही दिशा निर्देशन गर्ने विश्वास समेत ब्यक्त गर्नु भयो । उहाँले ब्यक्तीगत स्वार्थ र इंगोले संस्थालाई राम्रो नगर्ने बताउँदै संस्था जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।


प्रकाशित | ६ मंसिर २०७८, सोमबार २०:४२