सरकारले नाङ्गो हस्तक्षेप गर्‍यो, अब न्यायका लागि अदालत जान्छौ: कुमार पन्त

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले नाङ्गो र ठाडो हस्तक्षेप गरेको भन्दै केहि दिनभित्रै अदालत जाने बताउनु भएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएको निर्वाचन संरक्षक परिषद्मार्फत गर्न निर्देशन दिएसँगै अध्यक्ष पन्तले सरकारको हस्तक्षेपविरुद्ध अदालत जाने प्रतिक्रिया दिनु भएको हो ।

अध्यक्ष पन्तले निर्वाचन विथोल्नका लागि हस्तक्षेप गरिएको बताउँदै अदालत जाने तयारीका लागि वकिलहरुलाई जिम्मा दिइसकिएको पनि जानकारी दिनु भयो । उहाँले बुधबार बिहानसम्म अदालत गइसक्ने बताउनु भयो । सरकारले राज्यको उपहास गरेको बताउँदै अध्यक्ष पन्तले सो हस्तक्षेप निन्दनीय र भत्र्सनायोग्य रहेको बताउनु भयो ।

विश्व सन्देशसँगको कुराकानीमा अध्यक्ष पन्तले भन्नु भयो, ‘यो परराष्ट्रको नाङ्गो र ठाडो हस्तक्षेप हो । संस्था नियन्त्रणमा लिएर आफूले चाहेको व्यक्तिलाई जिताउने खेलमा परराष्ट्र मन्त्रालय लागिपर्यो । हामीले निर्वाचनको तयारी गरिरहेको बेला कुनै जानकारी बिना हस्तक्षेप गर्दै निर्वाचन संरक्षक समितिलाई गर्न दिनू भन्नु हाम्रो अधिकारमाथिको ठाडो हस्तक्षेप हो ।’

अध्यक्ष कुमार पन्तले संघको विधान बमोजिम कार्यकाल थपिएको बताउँदै भन्नु भयो. ‘यो समिति अवैद्य हुने तर त्यहीँ समितीले बनाएको संरक्षक परिषद भने मान्य हुने, यो कस्तो अनौठो निमय र कानुन हो।’ साथै अध्यक्ष पन्तले निर्वाचनको कार्यक्रमहरु नरोकिने समेत बताउनु भएको छ ।


प्रकाशित | ६ मंसिर २०७८, सोमबार १९:१८