शेष घलेद्धारा मुक्तीनाथमा विष्णुमूर्ति बनाउन ५० लाख सहयोग गर्ने घोषणा

मुस्ताङ-  गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा विष्णुको मूर्ति बनाउने घोषणा गर्नु भएको छ ।

सो क्षेत्रमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिसक्नु भएको छ । उक्त क्षेत्रमा ढुङ्गाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाइमा ढुङ्गाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउने घोषणा घलेले गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is ghale5-768x1024.jpg

एनआरएनए उपाध्यक्ष लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति निर्माण गर्नु भएको हो । उक्त बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ।

मुक्तिक्षेत्रमा रहेको सोही बुद्धमूर्ति भएकै ठाउँमा पुगेर घलेले विष्णुको मूर्ति बनाउन ५० लाख सहयोग गर्ने घोषणा गर्नु भएको हो । घलेले सो मूर्ति आफ्ना आमा-बुबाको नाममा निर्माण गर्नुहुनेछ । सम्पूर्ण मूर्ति निर्माणको जिम्मा आफू र दाजु डम्बर घलेले लिने बताउनु भयो ।

सो क्षेत्रमा रहेको उक्त विशाल बुद्ध मूर्तिलाई आफूले चन्द्रमामा बनाएको घरजस्तै ठानेको पनि घलेले बताउनु भयो । घलेले बुद्धको मूर्ति निर्माण सम्पन्न गरेकोमा खुसी ब्यक्त गर्दै सोनाम लामालाई धन्यवाद समेत दिनुभयो ।

नेपालमा बुद्ध र हिन्दु एकदमै मिलेर बसेको भन्दै घलेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउन सहयोग गर्न सबैलाई आह्वान पनि गर्नु भयो । मुक्तीनाथ बुद्ध र हिन्दूको संगम हो ।  यो अभियानमा धेरैभन्दा धेरै व्यक्तिहरूलाई सहभागी गराउन चाहेको भन्दै घलेले एक रुपैयाँ अथवा एक डलर सबैलाई अपनत्व हुने गरी सहभागी गराउने बताउनु भयो ।

एनआरएनए पूर्व अध्यक्ष घलेले ५० लाख घोषणा गरेसँगै एनआरएनए यूकेका पूर्व अध्यक्ष डम्बर घलेले पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नु भएको छ ।

त्यस्तै सोनाम लामाले करिब ६ रोपनी क्षेत्रफलमा बुद्धको ३५ फिटको मूर्ति निर्माण कार्य सम्पन्न गर्नुभएको छ । मन्दिर परिसरमा बुद्ध मूर्तिसँगै पार्क पनि बनाइएको छ । मूर्तिबाट अगाडि धौलागिरी हिमाल र बायाँ साइटबाट निलगिरी हिमाल देखिने गरि मनोरम दृश्यले सबैलाई लोम्याउँछ ।

साथै सो ठाउँबाट हिमालको मनोरम दृश्य देखीने गरि तस्विर कैद गर्न सक्ने गरि संरचना बनाइएको छ । लामाले स्वीकृत लिनुभएको करिब ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा बनाइएको छ ।

लामाले सो स्तुपा आफना परिवारको नाममा बनाउनुभएको छ । आफू, धर्मपत्नी, एक छोरा र दुई छोरीको नाममा पाँच वटा स्तुपा निर्माण गरिएको हो ।


प्रकाशित | १० कार्तिक २०७८, बुधबार १०:४६