प्रदेश नम्बर २ को बजेट ३३ अर्ब ७९ करोड

काठमाडौं । प्रदेश नम्बर २ ले आगामी आर्थिक वर्ष २०७८/७९ का ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार प्रदेश नम्बर २ का आर्थिक मामिला तया योजना मन्त्री बिजय कुमार यादवले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नु भएको हो ।

विनियोजित बजेटमध्ये चालुगततर्फ २४.२६ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट छुट्याईएको छ ।
त्यस्तै पुँजीगततर्फ कुल विनियोजित बजेटको ५३.४४ प्रतिशत अर्थात् १८ अर्ब ५ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापनतर्फ प्रदेश नम्बर २ ले १० करोड रुपैयाँ बराबर मात्रै बजेट छुट्याएको छ । स्रोत व्यवस्थापनतर्फ प्रदेशको आन्तरिक स्रोतबाट ३ अर्ब ४ करोड ९१ लाख, ३१ हजार र संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ बराबर व्यहोरिनेछ ।

राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ बराबर स्रोत व्यहोरिनेछ । चालु आर्थिक वर्षको बजेट खर्च गर्न नसकेको ६ अर्ब २५ करोड रुपैयाँ बराबरको नगद मौज्दात समेत गरी बजेट स्रोत व्यवस्थापन गरिएको छ ।

यी माथिका स्रोतबाट ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट स्रोत व्यवस्थापन गरिएको छ । बाँकी १ अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।


प्रकाशित | १ असार २०७८, मंगलवार २०:१४