व्यापार घाटालाई सन्तुलनमा ल्याउने कार्यमा भूमिका खेल्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीको लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको एउटा खुड्किलो भएको बताउनुभयो । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्ती अर्यालले व्यापारघाटालाई समेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसले भन्सारबाट जाँचपास कार्य सहजरुपमा सम्पन्न गर्न सकिनेछ । अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको महत्वपूर्ण खुड्किलोका रुपमा हामीले यसलाई दिएका छौ ।’

मन्त्री अर्यालले कार्यान्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोशेढुंगा हुने समेत बताउनुभयो । समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उहाँको भनाइ थियो । ‘हरेक क्षेत्रका बेथितिको अन्त्य प्रविधिबाट नै गर्ने हो । आयात र निर्यातसँग जोडिएका बेथितीको अन्त्य गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, मन्त्री अर्यालले भन्नुभयो, ‘आर्थिक उदारीकरण र खुला बजारमा हामी गइसकेको अवस्थामा हामीले हाम्रा प्रतिस्पर्धी क्षमतालाई हरेक ढंगले विकास गर्न जरुरी छ ।’

यसैगरी त्यस अवसरमा बोल्दै कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्र्तराष्ट्रिय व्यापारमा अब सहजता आउने बताउनुभयो । एकद्वार प्रणालीमार्फत सेवाग्राहीले सरल ढंगबाट सेवा पाउने बताउदै उहाँले प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता भएको बताउनुभयो । यस्तै एकद्वार प्रणाली कार्यान्वयन आयोजनाको तर्फबाट कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताउनुभयो । केही समयमै कार्यान्वयनमा आउने एकद्वार प्रणालीले एकआपसमा सम्बन्ध बिस्तार मात्र नभएर कामकारबाहीमा ठूलोृ परिवर्तन हुने बताउनुभयो ।


प्रकाशित | ११ माघ २०७७, आईतवार २१:२१