फिलिपिन्समा शक्तिशाली भूकम्प, ११ जनाको ज्यान गयो, कैयौँ हताहत

काठमाडौं : फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। त्यहाँको भूकम्पमापन केन्द्रका अनुसार स्थानीय समय दिउँसो ५ बजेर ११ मिनेटमा ६.१ म्याग्निट्युडको भूकम्प गएको हो। एउटा विमानस्थलमा ठूलो क्षति भएको छ र कम्तीमा दुईवटा भवन ध्वस्त भएका छन्। त्यसको चौबिस घण्टा पनि नबित्दै भिसायास क्षेत्रमा ६.४ म्याग्निट्युडको अर्को भूकम्प गएको छ।

मनिलास्थित बीबीसीका संवाददाताका अनुसार सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा टक्लोबन शहर, लेते टापु र काटबलोगन शहर रहेका छन्। सामाजिक सञ्जालहरूमा राखिएका तस्बिरमा हल्लिएका भवनहरू र सडकमा धाँज देखिन्छ। त्यहाँ भएका मानवीय क्षतिबारे स्पष्ट हुन नसकेको विवरणहरूमा जनाइएको छ।

सन् २०१३ मा टक्लोबन शहर र वरपरका क्षेत्रमा हैयान नामक समुद्री आँधीले क्षति विध्वंस निम्त्याएको थियो। राजधानी मनिलादेखि उत्तर(पश्चिममा पर्ने पाम्पङ्गा प्रान्तमा पहिलो भूकम्पका कारण एउटा भवन भत्किँदा भग्नावशेषभित्र दर्जनौँ मानिस फसेको हुन सक्ने अधिकारीहरूले बताएका छन्। उक्त प्रान्त सबैभन्दा बढी प्रभावित भएको ठानिएको छ। सो प्रान्तकी गभर्नर लिलिआ पिनेडाले कम्तीमा २० जना घाइते भएको समाचार संस्था रोयटर्सलाई बताइन्।

भग्नावशेषभित्र पुरिएकाहरूबारे उनले भनिन्, ‘पीडाले उनीहरू रोइरहेको सुन्न सकिन्छ। उनीहरूको उद्धार गर्न सहज छैन।’ एउटा पसल भित्रबाट तीनजनाको शव निकालिएको उनले बताइन्। लुबाओ नगरमा एकजना हजुरआमा र उनका नातिको शव फेला पारिएको छ। गभर्नर पिनेडाका अनुसार २० जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ। मनिलामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो जहाँ गगनचुम्बी भवनहरू हल्लिरहेको देखिन्थ्यो। क्लार्क अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा बढी क्षति पुगेको छ। त्यहाँ सातजना घाइते पनि भएका छन्। (बीबीसी नेपाली सेवाको सहयोगमा )


प्रकाशित | १० बैशाख २०७६, मंगलवार २१:३१