नयाँ सरकार बनाउन प्रचण्ड–नेपाल समूहको सक्रियता, मिलेर अघि बढ्न देउवालाई प्रस्ताव

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर जान प्रस्ताव राख्नुभएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई मंगलबार बदर गरेपछि भोलिपल्टै प्रचण्ड र नेपालले देउवासँग छलफल गर्नुभएको हो ।

प्रचण्ड र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा कांग्रेस सभापति देउवाले भने पार्टीभित्र छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने बताउनुभएको छ ।

देउवाको सचिवालयका अनुसार त्यसका लागि छलफल गर्न कांग्रेसको शीर्ष नेताहरुसहित पदाधिकारीहरुको बैंठक भोलि देउवा निवासमा बोलाइएको छ ।

संसद पुनर्स्थापना भएपछि नयाँ सरकार बनाउन नेकपाको प्रचण्ड– नेपाल समूहले सक्रियता बढाएको छ ।


प्रकाशित | १२ फाल्गुन २०७७, बुधबार १६:२५