बङ्गलादेशबाट युरिया मल ल्याउने प्रक्रिया सुरू

काठमाडौँ । सरकारले बङ्गलादेशबाट पैँचो ल्याउन लागेको युरिया मलका लागि दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने प्रक्रिया सुरु भएको छ । यसअघि राजनीतिक रूपमा मात्र सहमति भएकामा अब दुई देशको मन्त्रालयबीच सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल पैँचो ल्याउने प्रक्रिया सुरु गरेपछि बङ्गलादेशले तीन÷चार दिनअघि आधिकारिक सहमति पठाएको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बङ्गलादेशले सापटी मल दिने भनी केही दिनअघि आधिकारिक जानकारी पठाएको र त्यसैका आधारमा आफूहरूले प्रक्रिया सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजो ९बिहीबार० सहमतिका लागि कानुन मन्त्रालयमा पठाएका छौँ । उताबाट स्वीकृत भएर आएपछि मात्र अन्य प्रक्रिया पूरा गरेर बङ्गलादेशसँग सम्झौता पत्रमा हस्ताक्षर हुन्छ । हस्ताक्षर भएपछि मात्र मल आउन सुरु हुन्छ । ”

मल पैँचो दिने विषयमा सहमति पठाउन बङ्गलादेशले ढिलाइ गरेका कारण अलि ढिलाइ भएको उहाँले बताउनुभयो । यतिबेलासम्म मल आइसक्नुपर्नेमा राजनीतिक रूपमा सहमति भए पनि कानुनी कुरा मिलाउन बङ्गलादेशलाई समय लागेका कारण थोरै ढिलाइ भएकोजस्तो देखिएको बताउँदै उहाँले दुवै पक्षबीच हस्ताक्षर भएको दिनदेखि १५ दिनभित्र मल नेपाल आइपुग्ने दाबी गर्नुभयो ।

मल ढुवानी गर्न नेपालका तर्फबाट हरेक कुरा तयारी अवस्थामा छ । टेन्डर आह्वान गरेर कृषि सामग्री कम्पनी लिमिटेडले ढुवानी गर्ने कम्पनी ठीक पारिसकेको छ । बोरा पनि छपाइ भइसकेको छ । सम्झौता पत्रमा हस्ताक्षर हुनेबित्तिकै मल ल्याउन सुरु हुन्छ, उहाँले बताउनुभयो । बङ्गलादेशले पनि नेपाललाई दिने मल किनेर ठीक पारिसकेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बङ्गलादेशबाट मल ल्याउनका लागि आफूहरूका तर्फबाट सबै तयारी पूरा भएको बताउनुभयो । सापटी मल ल्याउने विषयमा राजनीतिक रूपमा सहमति भएको हो तर त्यसलाई प्रशासनिक रूपमा कानुनी रूप दिन समय लागेको छ । त्यो काम कृषि मन्त्रालयले गर्दै छ । आफूहरूले ढुवानी गर्ने कम्पनी र बोरा छपाइ गरी ठीक पारेर राखेको बताउनुभयो । उहाँले पनि सम्झौता पत्रमा हस्ताक्षर भएको १५ दिनमा मल नेपाल आइपुग्ने बताउनुभयो ।

गहुँ बालीका लागि मलको खासै अभाव नहुने उहाँले बताउनुभयो । नेपालसँग युरिया मलको मौज्दात नरहे पनि पोटास आठ हजार र डीएपी मल पाँच सय मेट्रिक टन मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । कृषि सामग्री कम्पनी लिमिटेड २० हजार र साल्ट टे«डिङ कर्पोरेसन २८ हजार मेट्रिक टन डीएपी रासायनिक मल ल्याउने तयारीमा छन् । केही दिनमा नेपाल आइपुग्ने बताउँदै उहाँले गहुँ तथा तरकारी बालीका लागि एक÷दुई हजार मेट्रिक टन मल अभाव हुनसक्छ । त्यसको व्यवस्थापनमा पनि आफूहरू लागेको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनीकमा प्रकाशित छ ।


प्रकाशित | १५ कार्तिक २०७७, शनिबार ११:३८