मनसँगको संवाद
डा एन्जेला रेग्मी
कुरा अहिलेको परिस्थितिमा कोरोना भाइरस र यसको समयमा फैलिएको भयको हो। मानसिक स्वास्थ्यको वर्तमान परिवेश धेरै संवेदनशील छ। मानसिक स्वास्थ्यलाई लिएर वर्तमान परिप्रेक्ष्यमा चित्रण गर्दा मानौं यो एउटा शून्यतामा जोरले चर्किएको सिसाझैँ छ।
प्राय: छायाँमा राखिने वा छायाँमै रहेको ‘मानसिक स्वास्थ्य’ विषयमा समयमै ध्यानाकर्षण नरहने अवस्थाले अवश्य नै बेग्लै चुनौतीको रूप लिने मानसिक विज्ञहरुको अनुभव र आकलन छ।
लकडाउनमा भएको सामाजिक एवं आर्थिक अन्योल, एक्लोपन र यो एक्लोपनको भारमा उब्जिएको अनिश्चितता, अफवाह एवं अस्तित्वमा नै खतरापनको अनुभूतिले मात्र पनि मानसिक स्वास्थ्यको दुर्दशालाई चुनौती दिइरहेको छ। यस्तो अवस्थामा मनले उसलाई सुनिदिन पुकार गर्दो हो।
तपाईं वजन घटाउनमा व्यस्त हुनुहुन्छ वा ब्लडप्रेसर ठिक राख्नका निम्ति खानामा नुनको मात्रा मिलाउनमा व्यस्त हुनुहुन्छ। योगा, मेकअप, वस्त्र जीवनशैली, संगीत आदि–इत्यादीका फेसबुकका पेजनमा मस्त हुनुहुन्छ। तर तपाईंमध्ये कति जनालाई मानसिक स्वास्थ्य सम्बन्धी चासो होला?
मानसपटलको असहजताबारे तपाईं कत्तिको सजग हुनुहुन्छ? कतै तपाईंको मनले म डरमा छु, म अरु समयभन्दा बढी सोचमा डुबेको छु त भन्दैन? कतै मनले उसको लागि समय छुट्याउन विलम्ब त गरिरहेको छैन? स्पष्ट रुपमा अंग्रेजीमा भन्दा कतै मनले ‘I exist, give me your attention!’ त भनिरहेको छैन?
हजुरहरुमध्ये कति जना साँच्चिकैमा मनोस्वास्थ्यप्रति चेतनशील हुनुहुन्छ होला? वास्तवमै कति जना मानसिक स्वास्थ्यसँग जडित कलङ्कविहीन हुनुहुन्छ? यहाँ कति जना मानसिक रोगको कलंकद्वारा आलोचित हुनुहुन्छ?
तर, यसैबीच तपाईं भन्नुहुन्छ- म पागल हुनै सक्दिनँ!
तर, फेरि मनले हाँस्दै भन्छ- के म पागल मात्र हुन्छु त?
मन भनौं या मस्तिष्क, तपाईंलाई जानकारी नभएका अरु धेरै रोग लाग्न सक्छन्। जस्तै: टाउको दुखाइ, जिउ दुखाइ, छटपटाहट, असामान्य रुपमा ज्यादा हाँसो वा रुवाइ, ढुकढुकी बढेको डर अथवा आशंका बढ्नु नै यसका लक्षण हुन्। अन्य शारीरिक समस्याहरु जस्तो: रगत जाँच रिपोर्ट लगायत अन्य टेस्टहरुमा खराबी नहुँदा पनि हुने समस्याहरु पनि मानसिक रोगका कारण हुन सक्छन् भन्ने बेलैमा बुझेर त्यसको लागि चाहिने परामर्श तथा उपचार अगाडि बढाउनु जरुरी हुन्छ।
मानिस आफ्नो व्यवहारले समाजमा चिनिन्छ। दैनिक व्यवहारमा कुनै पनि गतिविधि जसले गर्दा व्यक्तिगत र सामाजिक समस्या सिर्जना हुन्छ भने त्यो नै मानसिक रोग हुनसक्छ। उदाहरणका लागि, निद्रा नलाग्ने, चिन्ता-तनाव हुने, लागूपदार्थको लत हुनेदेखि लिएर कडा रोगहरु जसमा भ्रम र असमान्य गतिविधि हुने गर्छ।
वंशाणुगत त्रुटि, मनस्थिति, आहार, दैनिक जीवनशैली, सामाजिक-आर्थिक परिवेश सबैको उत्तिकै भूमिका हुन्छ। शिशु अवस्थादेखिको बन्दै जाने त्यो १.५ केजीको मस्तिष्कमा जीवनकालमा भोगेको हरेक सिकाइले हाम्रो पहिचान बनेको हुन्छ। त्यसैले पनि कुनै एक कारणलाई औंल्याउनु अज्ञानता हो।
मनले भन्छ, ‘म यो सब खेल खेलिरहेको हुन्छु, श्रेय तपाईं केवल मुटुलाई दिनु हुन्छ। माया, प्रेम, सद्भाव के मुटुकै खेल हो त?’
मनले फेरि भन्छ, ‘मलाई तपाईं बौद्धिकताको मात्र श्रेय दिनुहुन्छ, यसै कारण होला मस्तिष्क यानी मन सजिलै तपाईंलाई छक्याउँदै आफ्ना कमजोरीलाई लुकाउनमा सफल हुन्छु। तपाईं मनलाई कमजोर ठान्नै चाहनुहुन्न हैन त?’
मन–मुटु सम्मिलित अनेक जीवन घटनाहरुमा हामी हाम्रो मनमुटु कमजोर भएको थाहा पाउन प्राय: सकिरहेका हुँदैनौं। मनमुटु अर्थात् मस्तिष्क कति देखाइ, भोगाइले गर्दा थकित र कमजोर भइसकेको हुन्छ यो बेलामा बुझ्न जरुरी हुन्छ र यो बुझाउन केवल मानसिक रोग र मनोविज्ञानसँग सम्बन्धित व्यक्तिमार्फत मात्र सम्भव छ। तसर्थ, मनलाई माया गर्न सिक्नु जरुरी छ।
अन्त्यमा, विश्वव्यापी रुपमा फैलिएको महामारीको समयमा सबै जना सचेत रहनुहोस। रोग फैलिनबाट आफू र अरुलाई बचाउनुहोस। जनस्वास्थ्यका नियम पालना गर्नुहोस। गलत अविश्वसनीय सञ्चार स्रोतलाई विश्वास नगर्नुहोस। घरेलु कार्यमा सक्रिय रहनुहोस। गुम्सिएका तनावजनक विषयको बारेमा कुरा गरेमा मन हल्का हुन्छ, त्यसैले संवाद गर्नुहोस। स्रोत- स्वास्थ्य खवर
(डा रेग्मी सिन्धुली अस्पतालको मानसिक रोग विभागमा कार्यरत छिन्।)
प्रकाशित | २० आश्विन २०७७, मंगलवार ०७:३६