एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनको औपचारिक उद्घाटन

काठमाडौं : गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भर्चुअल रुपमा संघको सम्मेलनको औपचारिक उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री ज्ञवालीले नेपालको विकासमा गैर आवसीय नेपालीको योगदान अतुलनीय रहेको बताउँदै विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताउनुभयो । कोभिड १९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको सम्मृद्धि गर्नुपर्ने आवश्यक रहेको भन्दै मन्त्री ज्ञवालीले गैर आवासीय नेपालीले सिकेको ज्ञान, सिप हस्तान्तरणको खाँचो औल्याउनुभयो ।

विदेशमा रहेको कस्तो प्रविधि नेपालमा हस्तान्तरण गर्दै लागू गर्न सकिन्छ ? भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको र नेपाल सुहाउँदो प्रविधि भित्याएर अब गैर आवासीय नेपालीको ज्ञान, सिपमार्फत मुलुकको सम्मृद्धि सम्भव रहेको धारणा ब्यक्त गर्नुभयो ।

साथै मन्त्री ज्ञवालीले कोभिड १९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फीर्ता गर्ने कार्य तीब्र गतिमा भइरहेको जानकारी गराउँदै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गर्नुभयो । विदेशबाट फर्काउने क्रममा केहि कठिनाई भएको स्वीकार्दै मन्त्री ज्ञवालीले हाल असहज परिस्थिति भएकाले पनि सोचजस्तो नहुन सक्छ भन्ने कुरा बुझिदिन आग्रह गर्नुभयो ।

मन्त्री ज्ञवालीले तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताउनुभयो । भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरि करिव १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल १० लाख नेपालीलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि बताउनुभयो ।

नेपालको आर्थिक सम्मृद्धिमा गैर आवासीय नेपालीको योगदान रहेकोले अब नेपालमा लगानी गरि रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचनले नेपालमा विदेशी तथा गैर आवासीय नेपालीहरु लगानी गर्न इच्छुक रहे पनि नेपालमा त्यो अवस्था नरहेको भन्दै सरकारलाई लगानी गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । पूर्व अध्यक्ष हिराचनले एनआरएनएको १७ वर्षे इतिहासलाई समिक्षा गर्नुपर्ने खाँचो औल्याउँदै कुनै कार्यक्रम गर्न अब काठमाडौंमा करोडौ खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य भएको पनि बताउनुभयो ।

गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद्हरुले निरन्तर एक स्टेभ अगाडि बढ्न प्रयास गर्नुपर्ने र आफनो कदम अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो । प्रमुख संरक्षक घलेले एसिया प्रशान्त क्षेत्रबाट नेपालमा जुनसुकै बेला पनि सहयोग हुने गरेको भन्दै त्यहाँ बस्नुपर्ने सबै नेपालीलाई धन्यवाद पनि दिनुभयो ।

अष्ष्ट्रेलीयाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई यहाँको स्थानीय सरकारले १ लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिनुहुँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै स्मार्ट एनआरएनको प्रोजेक्टलाई लागू गर्न लागिरहेको जानकारी गराउनुभयो । संघमा ब्यापक पुनर्सरचनाको खाँचो रहेको महसुस गर्दै स्मार्ट एनआरएन प्रोजेक्ट अगाडि बढाइएको पनि अध्यक्ष पन्तले जानकारी गराउनुभयो ।

कोभिड १९ प्रभावीत नेपालीहरुको लागि आइएलोबाट संघलाई १० करोड सहयोग प्रदान भएको जानकारी गराउनुहुँदै अहिले संघको सम्पूर्ण ध्यान विदेशमा रहेका नेपालीमा केन्द्रित रहेको पनि बताउनुभयो ।

त्यस्तै, अध्यक्ष पन्तले संघको विशेष महाधिवेशनको लागि परराष्ट्र मन्त्रालयमा निवेदन पेस गरेको जानकारी गराउनुहुँदै मर्चुअल विशेष महाधिवेशन गर्ने अनुमति पाएपछि र महाधिवेशन सम्पन्न भएपछि नेपालको आर्थिक सम्मृद्धिमा लगानी गर्न लागिपर्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत भीम उदास, नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधिको हस्तान्तरण गर्दै मुुलुकको सम्मृद्धिमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

आयोजक समितिका संयोजक तथा एसिया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द ) को सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक उपसंयोजकद्धय पारसमणी पोखरेल र खगेन्द्र न्यौपानेले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम कृती भट्टराईले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका आइसिसी पदाधिकारीहरु क्रमश : उपाध्यक्ष बद्री केसी, सोनाम लामा, मन केसी, महिला उपाध्यक्ष रविना थापा, महासचिव डा हेमराज शर्मा, सचिव राजेन्द्र कुमार शर्मा, प्रवक्ता डिवी क्षेत्री, आइसिसी सल्लाहकार टिबी कार्की र कुल आचार्य लगायत सहभागि हुनुहुन्थ्यो ।

साथै कार्यक्रममा एसिया प्याशिफिकमा नेतृत्व समालीसक्नु भएको तथा सो क्षेत्रबाट आइसिसीका पूर्व अग्रजहरु क्रमशः पूर्व आइसिसी कोषाध्यक्षद्धय प्रकाश पुन र प्रितम श्रेष्ठ, पूर्व आरसीद्धय यम कुमार गुरूङ (त्रिलोक ), किरण विक्रम थापा, डिआरसीद्धय कृष्ण पाण्डे, विनोद कुँवरलगायत पनि सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, विज्ञ सम्मेलनका संयोजक तथा एनआरएनए आइसीसी सदस्य डा.देवीबहादुर बस्नेत, एसिया प्याशिफिक महिला संयोजक अमृता थापा, युवा संयोजक दिपक कडेल तथा सो क्षेत्रभित्रका आईसिसी सदस्यहरु पनि सहभागि हुनुहुन्थ्यो ।

त्यस्तैगरि, एनसिसीको तर्फबाट चीनका अध्यक्ष प्रदिप न्यौपाने, हङकङ अध्यक्ष राधीका गुरुङ (टिका ), मकाउका अध्यक्ष पूर्ण गुरुङ, कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, जापानका अध्यक्ष देवलाल भण्डारी, थाइल्याण्डका अध्यक्ष आसाजीत अवाले, मलेसियाका अध्यक्ष हरि भट्टराई, भियतनामका अध्यक्ष सुवास अधिकारी, ताईवानका अध्यक्ष विनोद बहादुर देउवा, सिंगापुरका अध्यक्ष विश्वप्रकास गिरी, म्यानमारका अध्यक्ष एसबी क्षेत्रीलगायत सहभागि हुनुहुन्छ ।

पहिलो दिन आज कोभिड १९ ले वैदेशिक रोजगारमा पारेको प्रभाव र स्वदेश फर्किने वा फर्किएका कामदारको पुन एकीकरणका विषयमा सरकारी पक्ष, सरोकारवाला निकाय, सम्बन्धित विषयका विज्ञ तथा एनआरएनहरुबीच छलफल भइरहेको छ ।

त्यस्तै, आजै एसिया क्षेत्रभित्रका विभिन्न एनसीसी तथा आइसीसीका विभिन्न रिपोर्टहरु प्रस्तुत समेत गरिनेछ । साथै एनआरएन आइसीसीले परिवर्तन गर्न लागेका नयाँ एजेण्डामा पनि छलफल गरिनेछ ।

दोश्रो दिन भोली विज्ञ सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी, श्रमिकका साथै नेपालबाट विभिन्न विश्व विद्यालयमा अनुसन्धान केन्द्रमा कार्यरत विज्ञहरुले विभिन्न क्षेत्रका ११ वटा विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।


प्रकाशित | १० आश्विन २०७७, शनिबार १३:४१