नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौं – नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंका ३६ जना, भक्तपुरका ४ जना र ललितपुरका ४ जना गरी कुल ४४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी गराउनुभयो ।

थप चारको मृत्यु

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार थप ४ जनाको कोरोनाले मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिला रहेकी छन् । उनको गण्डक कोरोना अस्पतालमा मृत्युपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बाँकेमा कोरोना संक्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचाररत कोहलपुर नगरपालिका–२ की ७० वर्षीया वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको आइतबार दिउँसो मृत्यु भएको थियो । ती वृद्धाको शुक्रबार स्वाब लिइएको थियो । निमोनियाको लक्षण देखिएकी उनमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा किर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरुष रहेका छन् । स्वाब लिई परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो ।

काठमाडौँ मध्यबानेश्वरका ७६ वर्षका पुरुषको पनि मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।


प्रकाशित | २६ श्रावण २०७७, सोमबार १६:३६