एनसेललाई ३९ अर्ब ६ करोड कर तिर्न ठुला करदाता कार्यलयको सात दिनको समय

काठमाडौं : ठुला करदाता कार्यलयले मोवाइल सेवा प्रदायक एनसेल प्रालिबाट ८० प्रतिशत स्वामित्व बिक्री गर्दा लिने कर निर्धारण गरेको छ । कर कार्यलयले मंगलबार एनसेलबाट ३९ अर्ब ६ करोड ६ लाख रुपैयाँ लाभकर लिने निर्धारण गरेको हो । तीन शीर्षकमा उसले ६२ अर्ब ६३ करोड कर निर्धारण गरेकोमा पहिले दाखिला गरेको रकम घटाई सो रकम सात दिनभित्र भुक्तानी गर्न भनेको हो।

कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै आयकर ऐनबमोजिमा कर ३५ अर्ब ९१ करोड, शुल्क १८ अर्ब ३३ करोड र व्याज आठ अर्ब ३९ करोड निर्धारण गरिएको जनाएको छ। यो रकममध्ये एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने हुन्छ। सर्वोच्च अदालतको पूर्णपाठ आएलगत्तै कार्यालयले एनसेल प्रालि बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको हो।

सर्वोच्च अदालतले गत माघ २४ गते लाभकर एनसेल र मलेशियाको आजियटा वनहार्डले तिर्नुपर्ने परमादेश जारी गरेपछि ठुला करदाता कार्यलयले कर निर्धारण गरेको हो । सर्वोच्चले लाभकर भुत्तानी नभएसम्म एनसेललाई लाभांश वितरण र स्वामित्व किनबेचमा रोक लगाउने सरकारका नाममा परामदेश जारी गरेको थियो । अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार २१:१३