काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण प्रभावीत बनेको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिनेछ । अहिले पनि आयातमा क्रमिक सुधार हुँदै छ । हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ । आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ ।”
मन्त्री डा खतिवडाले कोरोना सङ्कट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढङ्गले जान्छ भन्नेमा अर्थतन्त्रको विकासमा भर पर्ने उल्लेख गर्दै आगामी आर्थिक वर्षको राजश्वको शीर्षकगत बाँडफाँटअन्तर्गत राजश्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण अवगत गराउनुभयो ।
भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको पनि खतिवडाले बताउनुभयो ।
प्रकाशित | ५ असार २०७७, शुक्रबार १५:३१