हङकङ स्वास्थ्य बिभागको कारण थप उडान रोकियो, ९ सय हङकङबासी नेपालीको यात्रा अन्यौलमा

काठमाडौं: लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपालीको थप उडान रोकिएको छ । सोमबार नेपाल एयरलाइन्सको तीन चार्टर विमानमार्फत पहिलो उडान भएको थियो । दोस्रो उडान भने हङकङ स्वास्थ्य बिभागले अनुमती नदिएपछि रोकिएको हो ।

हङकङबासी नेपालीलाई हङकङ उद्धार गर्न एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङले हार्बेस्ट मुन ट्राभल मार्फत हिमालयन एअर चार्टर गरिएकोमा हङकङ सरकारले अनुमति नदिए पछी नेपाल एअरलाइन्सको दुइटा न्यारो बडि चार्टर गरि जुन १ राती ९ बजे र १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलबाट उडान गरेको थियो ।

सोही दिन राती करिब ११ बजे हङकङ सन राइज ट्राभलले चार्टर गरेको नेपाल एअर लाइन्सको वाइड बडिले २७५ यात्रु बोकेर उडान गरेको थियो । सोमबार दुई न्यारोबडी जहाजले १५५ को दरले र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लगेको थियो ।

हार्बेस्ट मुन ट्राभल मार्फत चार्टर गरिएको दुइटा न्यारो बडिको हङकङ सरकार इमिग्रेसन, क्याड र स्वास्थ बिभागबाट स्वीकृति लिएपनि सनराइज ट्राभलले चार्टर गरेको वाइड बडिले हङकङ स्वास्थ्य बिभागबाट स्वीकृति नै नलिइ जहाज हङकङ पुगेको हुँदा जुन ४, ५ र ६ मा उड्न लागेको नेपाल एअरको न्यारो र वाइड गरि पाँच जहाजको हङकङ प्रवेश अनुमति स्वास्थ्य बिभागले नदिएको बुझिएको छ ।

नेपाल एअरलाइन्स हङकङ कार्यालय र सम्बन्धीत निकायले ध्यान नपुर्‍याउदा हङकङ जाने पर्खाइमा रहेका करिब ९ सय नेपालीहरुको यात्रा अन्यौलमा परेको छ । यस विषयमा हङकङ महाबाणिज्य दूतावास र नेपाल एअरलाइन्स हङकङ प्रमुखसँग थप जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।


प्रकाशित | २३ जेष्ठ २०७७, शुक्रबार १८:४४