भारतको नयाँ नक्सा प्रति एनआरएनएको आपत्ति, गर्यो विश्वभरिका नेपालीलाई विरोधमा उभिन आह्रवान

काठमाडौं :  विश्वभरीका गैर आवासीय नेपालीको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विश्वभरीका गैर आवासीय नेपालीलाई मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा उभिन आह्रवान गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तले एक बिज्ञप्ति जारी गर्दै विश्वभरीका गैर आवासीय नेपालीलाई सो आह्रवान गर्नुभएको हो ।

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभागका रुपमा देखाएकोप्रति एनआरएनएले गम्भीर आपत्ति जनाएको हो ।

अध्यक्ष पन्तले जारी गरिएको बिज्ञप्तिमा भनीएको छ, ‘भारत सरकारको यो कार्यबाट बिश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्ध भएका छन, दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी बिषयहरु, कुटनीतिक माध्यमबाट बार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुंग्याउँनुको सट्टा एक पक्षीय ढंगबाट चालिएको कदमको भत्सना गर्दैछौं ।’

‘एनआरएनएले नेपाली सिमानाको रक्षा गर्न बिश्वभर रहेका सवै नेपाली नेपाल सरकारको साथमा रहेको घोषणा पनि गरेको छ । ‘मुलुकको सावैभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील बिषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं बिदेशस्थित गैर आवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्छ भन्ने हाम्रा मान्यता हो । तसर्थ, अन्तराष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पुर्ण बिदेशमा रहेका नेपालीहरु प्रतिवद्ध छौं,’ पन्तले भन्नुभएको छ ।

प्रेस विज्ञप्ति : भारतले जारी गरेको गलत नक्सा सम्बन्धमा

भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएका छन् ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्दछौँ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ, अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध छौं ।

कुमार पन्त,
अध्यक्ष
८, नोभेम्बर,२०१९


प्रकाशित | २२ कार्तिक २०७६, शुक्रबार २१:२७