तोकिएको समयमै पेट्रोलियम पाइपलाइन परियोजना सम्पन्न भएकामा अत्यन्त खुसी छु :  नरेन्द्र मोदी

काठमाडौं : मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि ‘भिडियो कन्फ्ररेन्स’मार्फत नयाँ दिल्लीबाट सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएकामा आफू अत्यन्त खुसी रहेको बताउनुभयो । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म अत्यन्त खुसी छु, दुवै मुलुकको संयुक्त प्रयासमा परियोजना सम्पन्न भएको छ ।”

भारत र नेपालबीच सदियौँदेखि जनस्तरमा पारिवारिक र सांस्कृतिक सम्बन्ध रहेको औँल्याउँदै उहाँले नेपालको विकास प्रयासमा भारतको सधैँ साथ र सहयोग रहने बताउनुभयो । “दुई देशका जनता जनताबीचको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधारका रुपमा रहेको छ”, उहाँले भन्नुभयो ।

नेपालको उच्च राजनीतिक नेतृत्वसँग आफू बारम्बार संवादका क्रममा रहेको स्मरण गर्दै उहाँले पछिल्लो डेढ वर्षमा आफूले चार पटक नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गरेको बताउनुभयो ।

भारत र नेपालको समृद्धिका लागि परस्पर हितका आधारमा साझेदारी गरिएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुवै मुलुकलाई लाभ हुने गरी विकासका नयाँ नयाँ क्षेत्रमा समझदारी गरिएको बताउनुभयो । दुवै मुलुकका सरकारको उच्च प्राथमिकतामा रहेकाले सो परियोजना तोकिएको समयमै सम्पन्न भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमण गर्न आउनेसमेत बताउनुभयो ।


प्रकाशित | २४ भाद्र २०७६, मंगलवार १७:४८