बाँदर धपाउन नगरपालिकाले छुट्यायो ५० लाख

काठमाडौं : अधिकांश स्थानीय सरकारसँग सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारमा बजेट खर्चिन जनताको माग छ । तर, भोजपुर नगरपालिकाका जनताले भने यी सबै सुविधा नदिए पनि बाँदर भने धपाइदिन जनप्रतिनिधिसँग अनुरोध गरेका छन् ।

स्थानीयको माग सम्बोधन गर्दै नगरपालिकाले चालू आर्थिक वर्षका लागि बाँदरआतंक नियन्त्रण गर्ने शीर्षकमा ५० लाख विनियोजन गरेको छ । ‘बाँदरले सतायो भन्दै धेरै जनता आउनुहुन्छ । सडक, खानेपानी बरु चाहिएन, बाँदर धपाइदिनुपर्‍यो भन्नुहुन्छ । बाँदरले भातको भाँडो नै बोकेर हिँडेको गुनासोसमेत आएको छ । जनता बसाइँ सर्न थालेका छन्,’ मेयर कैलाशकुमार आलेले भने, ‘जनताको माग सम्बोधन गर्नु हाम्रो कर्तव्य हो । त्यसैले बाली संरक्षण शीर्षकमा यस वर्ष ५० लाख विनियोजन गरेका छौँ । किसानलाई अनुदान दिनुभन्दा अहिलेलाई बाली संरक्षण गर्नुपर्ने आवश्यकता देखियो ।’ यो समाचार आजको नयाँ पत्रीका दैनीकमा प्रकाशित छ ।

हालै सम्पन्न नगरसभामा वडाका जनप्रतिनिधिले समेत बाँदर समस्यालाई प्रमुखताका साथ उठाएको आलेले जानकारी दिए । उनले भदौबाट बाँदरखोर ९पासो० बनाएर बाँदर समात्ने अभियान सुरु गर्ने बताए । ‘बाँदर समातेर राष्ट्रिय निकुञ्जमा लगेर छोड्ने योजना बनाएका छौँ । त्यसका लागि निकुञ्जसँग स्वीकृतिको पहल भइरहेको छ,’ उनले भने, ‘कानुनअनुसार बाँदर मार्न मिल्दैन । त्यसैले समातेर निकुञ्जमा छोड्नुको विकल्प रहेन ।’


प्रकाशित | १९ श्रावण २०७६, आईतवार ०९:५७