राम्रो ब्यक्ती नेतृत्वमा आए एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिन तयार छु : सोनाम लामा

काठमाडौं :  एनआरएन अभियन्ता सोनाम लामाले गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आसन्न नवौ महाधिवेशनमा राम्रो ब्यक्ती नेतृत्वमा आए अमेरिकाबाट उपाध्यक्षमा उम्मेदवार दिन तयार रहेको बताउनुभएको छ । एनआरएनमा राम्रो र असल ब्यक्तीको खाँचो रहेको भन्दै संस्थालाई अगाडि बढाउन सक्ने, सक्षम, इमानदार र काम गर्न सक्ने ब्यक्ती नेतृत्वमा आए मात्र उपाध्यक्षमा उम्मेदवार दिन तयार रहेको बताउनुभयो ।

विश्व सन्देश अनलाइनसँग कुराकानी गर्नुहुँदै लामाले राम्रा ब्यक्तीलाई नेतृत्वमा ल्याउनुपर्नेमा समेत जोड दिनुभयो । संस्थामा गफ गर्ने ब्यक्ती आवश्यक नभएको भन्दै एनआरएनमा योगदान नगरेको ब्यक्तीबाट संस्थाको संस्थागत विकास हुन नसक्ने समेत बताउनुभयो । संस्थामा लोभी, स्वार्थीभन्दा संस्था, देश, र समाजको लागि केहि योगदान गर्न सक्ने तथा भावनाले ओतपोत भएका ब्यक्तीको खाँचो मशसुस भइरहेको लामाले बताउनुभयो ।

गैर आवासीय नेपाली संघ गैर राजनीतिक र गैर नाफामूलक संस्था भएको भन्दै राजनीतिक र ब्यक्तीगत स्वार्थ हावी हुन नदिन पनि सबै सचेत हुनुपर्ने धारणा पनि राख्नुभयो । ‘चुनावमा राजनीतिक र ब्यक्तीगत स्वार्थ हावी हुन सक्छन् तर एनआरएनका सच्चा सिपाहीहरुले त्यस्ता गलत प्रवृत्तिलाई रोक्नुपर्छ’, लामाले भन्नुभयो । एनआरएनमा भएका केहि कमीकमजोरीलाई भने सच्याउन जरुरी रहेको भन्दै लामाले पदमा बसेर मात्र समाजसेवा गर्न सकिन्छ भन्ने भ्रम नपाल्न समेत सबैमा आग्रह गर्नुभयो ।

एनआरएनएमा केहि लिन पाइन्छ कि भनेर आउने नभई यहाँ त्याग, तपस्या र योगदान गर्न आउनुपर्ने भन्दै पदको लागि मरिहते गर्नेभन्दा संस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सबैले चिन्तन मनन गर्न आवश्यक रहेकोमा जोड समेत दिनुभयो । एनआरएनमा पछिल्लो समय देखिएको विकृतिले एनआरनएनप्रतिको शाख गिर्दै गएकोप्रति विश्वभरीबाट चिन्ता र चासो ब्यक्त भइरहेकोले सबै साथीहरुको मागअनुसार मात्र एनआरएनमा आउँन आफू तयार बनेको बताउनुभयो । लामा लामो समयदेखि एनआरएन अभियानमा हुनुहुन्छ । एनआरनए अमेरिकाज्को डिआरसी हुँदै आरसी पदको लामाले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।


प्रकाशित | १८ श्रावण २०७६, शनिबार ११:१४