युरोकपमा आज तीन खेल,पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुने


काठमाडौँ । युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । युक्रेन र म्यासेडोनिया दुबै टोली पहिलो जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोले पराजित भएको थियो भने नर्थ म्यासेडोनिया अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे हुनेछ । बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा डेनमार्क पहिलो जित खोजीमा हुनेछ ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो भने डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । आजको तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’ मा रहेका दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स र अष्ट्रिया दुबै लगातार दोस्रो जित निकाल्ने योजनामा छन् । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।


प्रकाशित | ३ असार २०७८, बिहीबार ०९:०१