ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी : घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५-० गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो ।

कोरिन्थिनास स्टेडियममा ब्राजिललाई जित दिलाउन कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले एक एक गोल गरे । एकतर्फी खेल खेलेको ब्राजिलले १२ औं मिनेटमा कासीमिरोको गोलबाट अग्रता बनाएको थियो । १९ औं मिनेटमा फिर्मिन्होले ब्राजिलको अग्रता २-० को बनाए । खेलको ३२ औं मिनेटमा एभर्टनले गोल गर्दा पहिलो हाफमा ब्राजिल ३-० ले अघि रह्यो ।

खेलको ५३ औं मिनेटमा अल्भेसले गोल गर्दै ब्राजिलको अग्रता ४-० को बनाए । खेलको ९० औं मिनेटमा विलियनले गोल गरेदे ब्राजिललाई ५-० को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा गाब्रियल जिससले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार पेरुका गोलकिपर पेड्रो गल्लेसले रोकिदिएका थिए । जितसंगै समूह ‘ए’ को ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । तेस्रो स्थानमा रहदै ४ अंक जोडेको पेरुले भने क्वाटरफाइनल प्रवेशका लागि हुने प्ले अफ खेल्नेछ । यस समूहबाट भेनेजुएला उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । बोलिभिया प्रतियोगिताबाट बाहिरियो ।


प्रकाशित | ८ असार २०७६, आईतवार १०:१६