अब पाठ्यक्रममा योग विषय राखिने

काठमाडौं: नसर्ने रोग रोकथाममा योगको प्रभावकारिता बढेसँंगै मानिसहरू योगप्रति आकर्षित हुन थालेका छन् । योगको व्यापकसँगै सरकारले पाठ्क्रममा पनि योग विषय राख्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नसर्ने रोगको जोखिम घटाउन योग अनिवार्य भएको बताउनुभयो । उहाँले सरकारले योग प्राकृतिक चिकित्सा, आयुर्वेदलाई विशेष महत्व दिएर विद्यालय तहको पाठ्यक्रममा नै योगसम्बन्धी विषय समावेश गर्न लागिएको जानकारी दिनुभयो ।

योगसम्बन्धी पाठ्यक्रम साउनसम्म पूरा भइसक्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “सम्भवतः आउँदो शैक्षिक सत्रदेखि योग, आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी अध्ययन हुने छ । ” उहाँले विद्यालय पाठ्यक्रम मानिसको जीवनशैली परिवर्तन गर्ने खालको आउने भन्दै विद्यालयस्तरदेखि नै जीवनशैलीबारे ख्याल राख्ने हो भने नसर्ने रोगको जोखिम घटाउन सकिने बताउनुभयो । पछिल्लो समय मानिसको जीवनशैली परिवर्तन हुँदा मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौला रोगजस्ता जटिल रोगले सताउन थालेको छ ।

पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रम तयार पार्न निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “योग, आयुर्वेद, प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम निर्माणका लागि कार्यदल गठन गरी काम भइरहेको छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलको संयोजकत्वमा योग, आयुर्र्वेद र प्राकृतिक चिकित्सा विषय पाठ्यक्रममा समावेश गर्नलाई कार्यदलसमेत गठन गरेको छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।


प्रकाशित | ७ असार २०७६, शनिबार ०८:०३