विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो २ सय ४२ रनको मध्यम लक्ष्य

एजेन्सी:  एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो ।

मैदान हिलो भएको केहि ढिला सुरु भएको खेल १ ओभर घटाएर ४९ मा झारिएको थियो । दक्षिण अफ्रिकाकालागि मध्यक्रमका रस्सि भान डर दुसेनले ६४ बलमा २ चौका र ३ छक्का सहित ६७ रनमा अविजित रहे । त्यस्तै क्रिस मोरिसले ६ रन बटुले ।

ओपनर हाशिम अमलाले ५५ रनको योगदान दिए । २८ ओभरको चौथो बलमा मिचेल सान्टनरले बोल्ड आउट गनुअघि अमलाले ८३ बलमा ४ चौका प्रहार गरे । दक्षिण अफ्रिकाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई ब्यक्तिगत ५ रनमा गुमाएको थियो । डी ककलाई टेन्ट्र बोल्टले बोल्ड आउट गरे ।

कप्तान फाफ डु प्लेसिसले २३ रन बटुले । १४ ओभरको अन्तिम बलमा ल्योकी फ्ग्र्युसनले बोल्ड आउट गर्नुअघि उनले ३५ बलमा ४ चौका प्रहार गरे । युवा ब्याट्सम्यान एडेन मार्करामले ५५ बलमा ४ चौका ३८ रन बटुले ।

पाँचौ विकेटका लागि रस्सि भार दुसेन र डेविड मिलरले ७२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ केहि उकासेका थिए । डेविड मिलरले ३७ बलमा २ चौका र १ छक्का सहित ३६ रन जोडे । उनलाई फ्ग्र्युसनले ४५ ओभरको पाँचौ बलमा बोल्टबाट क्याच गराउँदै साझेदारी तोडे ।

न्युजिल्यान्डका लागि ल्योकी फ्ग्र्युसनले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । टेन्ट्र बोल्ट,कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले समान १ विकेट हात पारे ।


प्रकाशित | ४ असार २०७६, बुधबार २१:११