लोकसेवा आयोगका ४ वटा निवेदनका मुद्दा एकैसाथ सुनुवाइ हुँदै

काठमाडौं : लोकसेवा आयोगका पक्ष र विपक्षमा परेका ४ वटा निवेदन आज एकैसाथ राखेर सुनवाई हुने भएको छ । न्यायाधीशहरू दीपककुमार कार्की र डम्मरबहादुर शाहीको संयुक्त इजलासले सर्वोच्चमा परेका सबै रिट निवेदन एकैसाथ राखी आज निर्णय गर्ने मंगलबार आदेश गरेको थियो । आयोगका पक्ष र विपक्षमा गरी सर्वोच्चमा ४ वटा निवेदन परेका छन्। सबै निवेदनलाई एकसाथ राखेर आज (बुधबार) सुनुवाइ हुँदैछ।

स्थानीय तहमा आयोगले ९ हजार बढी कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगले विज्ञापन खोलेपछि पक्ष र विपक्षमा रिट निवेदन परेका थिए । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र लोकसेवा आयोगलाई विपक्षी बनाई महोत्तरीका अधिवक्ता विकास ठाकुर र सर्लाहीका जगदेव चौधरीले छुट्टाछुट्टै रिट निवेदन दर्ता गर्नुभएको थियो । दुवैजनाले लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको माग गर्नुभएको छ ।

त्यसैगरी, अधिवक्ता राजाराम घिमिरेले लोकसेवाले खोलेको विज्ञापन रद्द गर्न नहुने माग राख्दै आइतबार रिट निवेदन दर्ता गर्नुभएको थियो । राज्य व्यवस्था समितिले कानुन मिचेर कानुनी शासनको गम्भीर उल्लंघन गरेको दाबी गर्दै उहाँले निवेदन दिनुभएको थियो । सर्वोच्चले लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गर्न निर्देशन दिनुको कारण राज्य व्यवस्था समितिसँग मागेको थियो।

त्यसैगरी, आयोगको विज्ञापन रोक्न माग गर्दै सोमवार सर्वोच्च अदालतमा देशभरका स्थानीय तहमा कार्यरत अस्थायी करारमा रहेका २ सय १२ जनाले रिट दर्ता भएको थियो । चारवटै निवेदनको बुधबार एकैसाथ सुनुवाइ भएपछि आयोगको विज्ञापनका विषयमा निर्णय लिर्दैछ ।लोकसेवा आयोगको विज्ञापन विरुद्धमा परेको रिट निवेदनमा सर्वोच्चले यसअघि लिखित जवाफ मागेको थियो। आयोगले लिखित कारण पेश गरिसकेपछि मंगलबार दोस्रो सुनुवाइ भएको थियो।


प्रकाशित | ४ असार २०७६, बुधबार ११:०५