वेस्टइन्डिजमाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी :  बंगलादेशले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो ।  विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो । ३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । बंगलादेशलाई सहज जित दिलाउन अलराउन्डर सकीब अल हसन र लिटन दास नायक सावित बने ।

सकीब ९९ बलमा १६ चौका सहित १ सय २४ रनमा अविजित रहँदै एतिहासिक जित पक्का गरे । त्यस्तै आक्रमक ब्याटिङ गरेका लिटन दासले ६९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ९४ रनमा नट आउट रहँदै ५१ बल अगावै बंगलादेशले सहज जित पक्का गरे । लिटन र सकीबले चौथो विकेटका लागि १ सय ८९ रनको अविजित साझेदारी गर्दै जितसम्म पुर्याए ।

सकीबले ८३ बलमा वान डे करियरको नवौं तथा यस विश्वकपमा आफ्नो दोस्रो शतक प्रहार पुरा गरे । सकिबले ३४ ओभरको अन्तिम बलमा ओशन थोमसलाई चौका प्रहार गर्दै शतक पुरा गरेका थिए । सकिबले यस अघि इंग्ल्यान्डविरुद्ध पनि शतक प्रहार गरेका थिए ।

नवौं ओभरको दोस्रो बलमा आन्द्रे रसेलले क्रिस गेलबाट क्याच गराउनु अघि सौम्य सरकारले २३ समान २ चौका र छक्का सहित २९ रन जोडे । १८ ओभरको तेस्रो बलमा शिल्डन कर्टेलले रन आउट गर्नु अघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ६ चौका सहित ४८ रनको योगदान दिए । मुश्फिकुर रहिम १ रनमा आउट भए । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र ओशन थोमसले समान १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनाएको थियो । वेस्ट इन्डिजलाई ठूलो योगफल तयार पार्न शाई होपले उत्कृष्ट ब्याटिङ गरे । आफ्नो वान डे करियरको सातौं शतक पुरा गर्न ४ रनले चुकेका होपले १ सय २१ बलमा ४ चौका र १ छक्का सहित ९६ रन बटुले ।

४७ ओभरको अन्तिम बलमा मुस्ताफिजुर रहमानले लिटन दासबाट क्याच आउट गराएपछि होप विश्वकपमा आफ्नो पहिलो शतक बनाउन चुकेका थिए । चौथो ओभरको दोस्रो बलमा मोहम्मद सैफुद्दीनले क्रिस गेललाई शुन्यमा क्याच आउट गराए । गेलले १३ बलको सामना गर्दा खाता खोल्न सकेनन् । दोस्रो विकेटका लागि इभिन लुइस र शाई होपले १ सय १६ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए । २५ ओभरको तेस्रो बलमा सबिक अल हसनले क्याच आउट गराउनु अघि लुईले ७० रन जोडे ।

लुईसले ६७ बलमा ६ चौका २ छक्का प्रहार गरे । सकिबलेनै निकोलस पुनरलाई २५ रनमा क्याच आउट गराए । चौथो विकेटका लागि होप र शिमरोन हिटमायरले ८३ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज बलियो योगफलमा पुगेको थियो । ४० औं ओभरको तेस्रो बलमा मुस्ताफिजुर रहमानले तामिम इकवालबाट क्याच गराउँदै हिटमायरलाई ५० रनमा पेभिलिएन फर्काए । आक्रमक ब्याटिङ गरेका हिटमायरले २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । मुस्ताफिुजर रहमानलेनै आन्द्रे रसेललाई शुन्यमा क्याच आउट गराए ।

तल्लोक्रममा कप्तान जोसन होल्डरले १५ बलमा ४ चौका र २ छक्का सहित ३३ रन जोडे । ड्रेन ब्राभो १९ र ओशन थोमसले ६ रन जोडे । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ९ ओभरमा रन ५९ खर्चेर ३ विकेट लिए । मोहम्मद सैफुद्दीनले १० ओभरमा १ मेडन सहित ७२ रन खर्चेर ३ विकेट हात पारे । सकिब हल हसनको नाममा पनि २ विकेट रह्यो ।


प्रकाशित | ३ असार २०७६, मंगलवार ०९:३६