मन्त्रिपरिषद बैठक : हरेक वर्षको बैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाउने निर्णय

काठमाडौं : सरकारले बैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले प्रत्येक वर्षको बैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवस मनाउने निर्णय गरेको हो। साथै हरेक वर्ष बैशाख २ देखि १६ गतेसम्म सरकारले विद्यार्थी भर्ना अभियान संचालन गर्ने निर्णयसमेत गरेको छ । सोमबारदेखि शूरु भएको विद्यार्थी भर्ना अभियानको नारा ‘सबै बालबालिकाहरूलाई विद्यालय पठाऊँ, नेपाललाई शिक्षितको देश बनाऊँ‘ रहेको छ। मन्त्रिपरिषद स्रोतका अनुसार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा बैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवस मनाउने निर्णय गरिएको हो ।

त्यस्तै, सरकारले अन्तराष्ट्रिय समसामयिक विषयमा विमर्श चलाउन स्थायी मञ्च निर्माण गर्ने भएको छ । ‘सगरमाथा डायलग’को नाममा विश्वका विभिन्न देशबाट विज्ञलाई उपस्थित गराएर ति विषयमा छलफल गराउने भएको हो । बैठकले सगरमाथा डायलग मञ्च बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन काफ्लेले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय महत्त्वको समसामयिक विषयमा विमर्श चलाउन स्थायी मञ्चको आवश्यकता महसुस गर्दै मन्त्रिपरिषद परिषदको बैठकले यस्तो मञ्च निर्माणको निर्णय गरेको बताउनुभयो ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार ०८:२७