भूकम्प पीडितहरुको छुट सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाण्डौ : भूकम्प पीडितहरुको छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपिएको छ । म्याद थप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा तोकिएको हो । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार गैर पीडितलाई सिफारिस गरिएको पाइएमा सिफारिसकर्तालाई कारबाही हुनेतर्फ सचेत गराइएको छ । निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराइ गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा मात्र सर्वेक्षण भइरहेको छ । अहिलेसम्म जिल्लाहरुबाट ६० हजार गुनासोकर्ताको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार १७:०४