विश्वकप क्रिकेट: अष्ट्रेलियाले दियो पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य

एजेन्सी : ओपनर डेविड वार्नरको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ ।

टाउन्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै ३ सय ७ रनमा समेटियो । अष्ट्रेलियाको सुरुवात उत्कृष्ट रहेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान खराब प्रर्दशनमा अष्ट्रेलिया विशाल योगफल बनाउन चुकेको हो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले शतक प्रहार गरे ।

वार्नरले ३६ ओभरको पहिलो बलमा शाहिन शाह अफ्रिदीलाई चौका प्रहार गर्दै १ सय २ बलमा आफ्नो विश्वकपमा दोस्रो तथा वान डे करियरको १५ औं शतक पुरा गरे । ३८ ओभरको पाँचौ बलमा अफ्रिदीले इमाम उल हकबाट क्याच आउट गराउनु अघि १ सय ११ बलमा ११ चौका र १ छक्का सहित १ सय ७ रनको शतकीय योगदान दिए ।

पहिलो विकेटका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले १ सय ४६ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर अष्ट्रेलियाले अन्तिम ९ ओभरमा ५१ रन जोड्न ६ विकेट गुमाउँदा ठूलो योगफल बनाउन चुकेको हो ।

वार्नर र फिन्चको साझेदारी मोहम्मद आमिरले २३ ओभरको पहिलो बलमा मोहम्मद हफिजबाट फिन्चलाई ८२ रनमा क्याच गराउँदै तोडे । ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि फिन्चले ८४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।

२९ ओभरको चौथो बलमा मोहम्मद हफिजको बलमा ठूलो शट खेल्ने धुनमा स्टिभ स्मिथ आशिफ अलीबाट १० रनमा क्याच आउट भए । ३४ ओभरको चौथो बलमा शाहिन शाह अफ्रिदीले ग्लेन म्याक्सवेललाई २० रनमा बोल्ड आउट गरे । म्याक्सवेल पनि ठूलो शट खेल्ने धुनमा बोल्ड आउट हुनु अघि १० बलमा २ चौका र १ छक्का प्रहार गरे । शन मार्श २३,उस्मान खवाजा १८ र नाथन कुल्टर नाईल २ रनमा क्याच आउट भए । यी तीनै ब्याट्सम्यान ठूलो शट खेल्ने धुनमा क्याच आउट हुन पुगेका थिए । तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट भए ।

विकेटकीपर एलेक्स केरिले २१ बलमा २ चौका सहित २०,प्याट कमिन्स २, मिचेल स्टार्क ३ रनमा आउट भए । मोहम्मद आमिरले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदी २ तथा हसन अली, मोहम्मद हफिज र वहाब रियाजले समान १-१ विकेट हात पारे ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार २०:२८