लोकसेवाको विज्ञापन रोकिंदैन, ढुक्क भएर परिक्षाको तयारी गर्नुस: मन्त्री पण्डित

काठमाडौं : सरकारले लोकसेवा आयोगले गरेको विज्ञापन नरोकिने भन्दै ढुक्क भएर परीक्षाको तयारी गर्न आग्रह गरेको छ । आयोगले संविधान र कानुनसम्मत विज्ञापन गरको स्पष्ट पार्दै परिक्षा कुनै पनि हालतमा नारेकिने भएकाले भ्रममा नपर्न र ढुक्क भएर परिक्षाको तयारी गर्न भनेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापन संविधान र कानुनसम्मत भएकाले नरोकिने बताउनुभयो । मंगलबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधानविपरीत भएको भन्दै रद्द गर्न सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो । त्यसलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार केही वरिष्ठ कानुनविद्हरूलाई बोलाएर छलफल गरेको हो । छलफलका क्रममा कानुनविद्हरूले संसदीय समितिले क्षेत्राअधिकार बाहिर गएर विज्ञापन रद्दको निर्देशन दिएको भन्दै रोक्न नपर्ने सुझाव दिएका थिए ।

राज्यव्यवस्था समितिले संविधानको धारा २९३ मा टेकेर दिएको निर्देशन लोकसेवा आयोगले मान्न बाध्य नहुने कानुनविद्को सुझाव आएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी गराउनुभयो । संविधानको धारा २९३ मा संसदीय समितिले संवैधानिक निकायको प्रतिवेदनलगायतका कामकारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन र राय सल्लाह दिन सक्ने व्यवस्था छ ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ०८:४२