संसद् बैठकमा सांसदको व्यवहारले सभामुख हायलकायल

काठमाडौं : संघीय संसद्को प्रतिनिधिसभा बैठकमा मंगलबार नौलो दृश्य देखियो । सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिने क्रममा यस्तो नौलो दृश्य देखिएको राजधानी दैनिकमा खबर छ । सरकार सञ्चालन गरिरहेको नेकपाका सांसद झपट रावलले रोस्टममा पुगेर ४ मिनेटसम्म मौन धारण गरे । सरकारले ल्याएको बजेटप्रति व्यंग्यात्मक शैलीमा उनले रोस्टममा पुगेर मौनधारण गरेको देख्दा बैठकमा सहभागी सांसद कानेखुसी गर्दै थिए । त्यसपछि सभामुखको आसनमा रहेकी राधा ज्ञवालीले उनलाई हेर्दै ‘के भयो माननीय ज्यू’ भनी प्रश्न गरिन् ।

कैलालीबाट निर्वाचित नेकपा सांसद रावलले करिब १ मिनेट मौन बसेपछि संसद् भवनको सिलिङ र बैठक कक्षतर्फ हेरेर बिताए । बैठकको अध्यक्षता गरिरहेकी ज्ञवालीको प्रश्नले झस्किएजस्तो गरी उनले एकछिन घोरिएर जवाफ दिए ‘केही नभएकाले सभामुख महोदय १ नबोलेको ।’

त्यसपछि ज्ञवालीले अब बोल्नुहोस् भनेपछि पनि रावलले मौनधारण नै गरिरहे । केही बेर अझै मौन रहेपछि सभामुख आसनबाट ज्ञवालीले फेरि सोधिन्, ‘यसरी समयको सदुपयोग भएन कि माननीयज्यू रु’ त्यतिन्जेल उनले रोस्टममा पुगेर मौनधारण गरेको ३ मिनेट भइसकेको थियो । रावलले गला अवरुद्धको शैलीमा भने ‘त्यो किताबमा नअटेको हुनाले सभामुख महोदय ।’

छोटो प्रतिक्रियापछि रावल केही नबोली अघिझैं मौन धारण गरिरहे । त्यसपछि ज्ञवालीले रोस्टमको माइक काटिदिनका लागि सचिवालयका कर्मचारीसँग राय मागिन् । कर्मचारीले दिएको रायअनुसार उनले सांसद रावललाई उनको सांकेतिक विरोधको ध्यानाकर्षण भइसकेको बताइन् । उनले सदनको ध्यानाकर्षण भएकाले बोल्न आग्रह गरिन् ।

प्रतिनिधिसभामा मन्त्रालयगत वार्षिक कार्यक्रममाथि छलफलका क्रममा सहरी विकास मन्त्रालयको बजेटमाथि आफ्नो धारणा राख्न रोस्टम पुगेका रावलले ६ मिनेट समय पाएका थिए । सभामुखको ध्यानाकर्षण हुन ४ मिनेट लाग्यो । त्यसपछि आफूले पाएको समयभित्र नै धारणा राख्ने बताउँदै रावलले मन्त्रालयले विभेदकारी कार्यक्रम ल्याएको आरोप लगाए ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ०८:३१