जापानमा असारको उडान स्थगीत भएपछि नेपाल एयरलायन्सले थाल्यो भदौका लागि तयारी

काठमाडौं: नेपाल एयरलायन्सले जापानको ओसाकाका लागि असारमा तय गरिएको उडान स्थगीत गरेपछि फेरि उडान तयारी थालेको छ । असारमा यात्रु नभएको भन्दै एयरलायन्सले भदौको लागि तयारी शूरु गरेको हो । जापानको ओसाकामा व्यवसायिक उडान भर्नका लागि बुकिङ खुला गरे पनि बुकिङ अत्यन्तै न्यून भएकाले असार १९ गतेको तालिका स्थगित गरेको थियो । नेपाल एयरलायन्सले यस अगाडि सन् १९९३ मा जापानमा व्यवसायिक उडान भर्दै आएको थियो । तर तत्कालिन समयमा जहाज अभावमा उक्त रुट बन्द गर्नु परेको थियो ।

नेपाल एयरलायन्सका अनुसार बुकिङ अत्यन्तै कम आएकाले उडान भर्न नसकिएकाले अब भदौको दोस्रो साताका लागि तयारी गरिएको हो । जुन र जुलाइ महिना जापानका लागि अफ सिजन भएकाले यात्रु नपाइएको एयरलायन्सकाको भनाइ छ । एयरलायन्सले जापानका लागि ४५ हजार रुपैयाँमा एकतर्फी भाडा दर कायम गरेको थियो ।

२७४ सिट क्षमता भएको वाइड बडी जेट जहाजले यात्रु नपाउँदा अत्यन्तै घाटा हुने भएकाले उडान तालिका पर धकल्ने निर्णय गरेको थियो । नेपाल एयरलायन्सका प्रवक्ता नवराज कोइरालाका अनुसार सेप्टेम्बर र नोभेम्बर महिना जापान उडानका लागि सिजन भएकाले त्यसैलाई लक्षित गरी अगस्टको अन्तिमबाट उडान सुरु गर्ने योजना बनाइएको हो । दशैं र तिहार जस्ता ठूला पर्वको अवसरमा नेपाल आउने संख्या बढ्ने तथा उक्त समयमा पर्यटकको संख्या पनि अत्यधिक वृद्धि हुने भएकाले सो समय उपयुक्त हुन सक्ने एयरलायन्सको विश्वास छ ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार १०:१८