हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

मोरङ – हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका-४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, काठमाडौं बल्खु बस्ने सिरहा, सिरहा नगरपालिका- २१ घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका-७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम रहेका छन् ।

उनीहरुमध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका-५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका-१३ बल्खुबाट र नासिर आलमलाई मोरङ विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

धनपालथान गाउँपालिका- ७ बस्ने दिलिप सिंहको उखुबारीमा माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका-४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका-३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति-२ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनि खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका-१२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो । खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा कारोवारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रकाशित | २१ माघ २०७८, शुक्रबार १६:३९