सरकार छोडने तयारीमा समाजवादी पार्टी

काठमाडौं:  समाजवादी पार्टी नेपालले सरकारबाट अलग्गिने मनस्थिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजेको राजधानी दैनिकमा खबर छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुँदा भएको सहमति र पछिल्लो समय नयाँ शक्ति पार्टीसँग भएको एकीकरणपश्चात् सरकार छोड्न पार्टीभित्र चर्को दबाब छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण हुँदा सरकार छोड्ने आन्तरिक सहमति भएको थियो ।

समाजवादी पार्टी केन्द्रीय कमिटीका अध्यक्षसमेत रहेका यादव अहिले ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् । विगतको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति समाजवादी पार्टीमा असन्तुष्टि बढ्दै गएको छ । सरकार छोडेर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज पार्टीमा उठ्दै आएको छ ।


प्रकाशित | २८ जेष्ठ २०७६, मंगलवार ०८:३१