वेस्ट इन्डिजलाई हराउँदै बंगलादेश फाईनलमा

एजेन्सी: आयरल्यान्ड, वेस्ट इन्डिजसँगको त्रिकोणात्मक वान डे सिरिजमा बंगलादेश फाईनलमा पुगेको छ । सोमबार राती वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै बंगलादेश फाईनलमा पुगेको हो । अव उपाधिको लागि बंगलादेशले शुक्रबार वेस्ट इन्डिजसँग नै खेल्नेछ । घरेलु टोली आयारल्यान्ड भने एक खेल अघिनै बाहिरिसकेको छ ।

सोमबार राती २ सय ४८ रनको लक्ष्य पछ्याएको वंगलादेशले ४७.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि विकेटकीपर मुश्फिकुर रहिमले ७३ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए । सौम्य सरकारले ६७ बलमा ४ चौका र २ छक्का सहित ५४, तामिम इकवाल २१, सकिब अल हसन २९, मोहम्मद मिथुन ४३ रनमा आउट हुँदा महमुदूल्लाह ३० रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि एलशे नर्शले ३,केमर चेस र जोसन होल्डरले समान १ विकेट हात पारे ।

त्यसअघि डबलिनमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रन जोडेको थियो । उसका लागि ओपनर साई होपले १ सय ८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिएका थिए । कप्तान जोसन होल्डरले ७६ बलमा ३ चौका र १ छक्का सहित ६२, सुनिल एम्ब्रिसले २३, रोस्टन चेजले १९, एस्ली नर्शले १४ रन जोडे । अन्यले भने दोहोरो अंकमा रन छुन सकेनन् ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कप्तान मोशर्फे मोतर्जाले ३,मेहदी हसन र सकिब अल हसनको नाममा समान १ विकेट रह्यो ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार ०८:१६