सहरमा बस्ने मानिस गाउँमा बस्ने जति पनि चेतनशील छैनन् : मालिका महत

तपाईंको विचारमा सहर भनेको के हो ?

सहर सुविधायुक्त व्यवस्थित ठाउँ हो। सहरमा हरेक सुविधा हुन्छन्। मानिसले आफ्ना रहर र इच्छा पनि रहरबाटै पूरा गरेका हुन्छन्। शिक्षा, स्वास्थ्य, यातायात, बिजुलीलगायत हरेक सुविधा सहरमा हुन्छन्।

घुमेकामध्ये मनपर्ने सहर ?

उपत्यका बाहिर पोखरा मनपर्छ। यहाँ फेवाताल, हिमाल र अनेकौँ पदमार्ग छन्। सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ। सडक र होटल पनि व्यवस्थित छन्। सबैतिर सफा र शान्त छ। काठमाडौंमा पाइने सुविधा पनि त्यहाँबाट लिन सकिन्छ। त्यसकारण मलाई पोखरा सुन्दर र व्यवस्थित लाग्छ।

काठमाडौं कस्तो लाग्छ ?

काठमाडौं मेरो जन्मथलो र कर्मथलो हो। जस्तो भए पनि माया लाग्छ। यहाँका हरेक पक्ष रमाइलो लाग्छ। यहाँको माटोसँग मेरो बाल्यकाल जोडिएको छ। यहाँ हरेक सेवा–सुविधा छन्। यहाँको हावापानी संसारमै पाइन्न। मैले आफ्नो करिअर यहीँबाट सुरु गरेकी थिएँ। तर, यहाँका धेरै पक्ष ठीक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ। अहिले जताततै फोहोर र व्यवस्थित मात्रै देखिन्छ। सहरभित्र आनन्द लिने ठाउँ छैनन्। यसलाई व्यवस्थित पार्ने हो भने काठमाडौं सुन्दर बन्न सक्छ।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर पुग्नुभएको छ ?

नेपालबाहिर खासै घुमेकी छैन। १/२ पल्ट भारत पुगेकी छु। अरु देशमा नपुगे पनि विदेशका सहर यस्ता हुन्छन् भन्ने जानकारी लिएकी छु।

काठमाडौंको मन नपर्ने पक्ष ?

काठमाडौंका सडक व्यवस्थित छैनन्। जता गए पनि अस्तव्यस्त मात्रै देखिन्छ। यहाँको प्रशासनले पनि सहरलाई सफा राख्नका लागि त्यति धेरै चासो दिएको देखिन्न। यद्यपि अहिले केही व्यवस्थित भएको छ भने कतै–कतै बन्ने क्रममा पनि छ। विकास निर्माणको काम भइरहेको ठाउँमा धुलोधुवाँ त हुन्छ नै। यद्यपि विकासका काम गर्दा सरकारले जनतालाई सास्ती दिएको छ। सहरवासीले साना–साना कुरामा सास्ती खेप्नुपरेको छ। सहरमा शौचालय छैन। योभन्दा ठूलो गुनासो सरकारसँग अरु केही छैन। अर्को कुरा, सहरमा पैसा हुने मात्रै सजिलो जीवन बिताउन सक्छन्। गरिब र इमान्दारलाई सहरमा बस्न अलि गाह्रो छ।

राम्रो लाग्ने पक्ष ?

यहाँको मौसम एकदमै राम्रो लाग्छ। यसबाहेक काठमाडौंको कला संस्कृतिले पनि तान्छ। ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन्। सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि लुकेर बसेका छन्। विदेशका सहरका आधुनिक छन्। प्रविधियुक्त सहर छन्। बनाउने हो भने यहाँका सहर संसारकै नमुना बन्न सक्छन्। मात्रै सरकारले सहर बनाउँछु भनेर लाग्नुपर्छ।

तपाई कस्तो सहरको कल्पना गर्नुहुन्छ ?

म बसेको सहर एकदमै सुरक्षित होस्। सुन्दर, सुविधायुक्त र सहरमा बसेका हरेकले एकैखाले सुविधा लिन पाउन्। हाम्रो सहरमा असमानता बढेको छ। सहरमा शक्ति र पहुँच हुनेले मात्रै अवसर पाएको छ। साच्चै नै तल्लो र विपन्न वर्गबाट आएको राम्रो मान्छेले पनि जागिर पाएका छैनन्। त्यस्तै सहरमा मनोरञ्जन गर्ने ठाउँ हौन्। सहर रातमा पनि ननिदाओस्। सहरले हरेकका इच्छा र चाहनालाई समेटेको होस्। सबैले रोजगारी पाएका हौंन। यति भयो भने सहर व्यवस्थित र सुन्दर लाग्छ होला।

सहर बिग्रनुको कारण के हो भन्ने लाग्छ ?

हामीले सहरको विकासमा ध्यान दिएनौं। सरकारले आफ्नो स्रोत प्रयोग गरेर सहर बनाउने कुरामा त्यति चासो दिएन। अर्को कुरा, सहर बिग्रनुमा हामी नागरिक पनि दोषी छौं। हामीले सहरको विकासको लागि आफूले सक्दो सहयोग गनै सकेका छैनौं।

सहरलाई कसरी सफा राख्न सकिएला ?

सहरले प्रदूषण फैलिएको ठाउँमा सफा गर्ने, ठाउँ ठाउँमा फोहर उठाउने सामग्री राखिदिने, नागरिकलाई जनचेतना सिकाउने जस्ता कार्यक्रम गर्न आवश्यक छ। सहर सफा राख्नको लागि त्यहाँको राजनीतिक अवस्था पनि व्यवस्थित हुनुपर्छ। सरकारी तवरबाट चलेका हरेक निकाय जिम्मेवार र जवाफदेही हुनुपर्छ। सहरवासीले तोकिएको स्थानमा फोहोर फाल्ने बानीको विकास गर्नुपर्छ। अहिलेसम्म विकास हुन नसक्नुको कारण गैर जिम्मेवारी सरकार र नागरिक भएकाले नै हो।

सहरवासीका बानी कस्तो लाग्छ ?

सहरमा बस्ने मानिस गाउँमा बस्ने जति पनि चेतनशील छैनन्। मलाई त सहरमा बस्ने निकै स्वार्थी लाग्छन्। किनकि हामीले आफ्नो बारेमा मात्रै चासो दिन्छौं। अरुको बारेमा सोच्दैनौं। अलिकति पनि चासो दिँदैनौं। छिमेकीलाई अप्ठेरो पर्दा सहयोग गर्न सक्दैनौं। त्यसैले पनि मलाई सहरवासीको बानी राम्रो लाग्दैन। त्यस्तै सहर सफा राख्ने विषयमा पनि सहरमा बस्नेहरू सहरप्रति सचेत छैनन्। जताततै फोहर मिल्काउँछन्। सरकारी निकायलाई मिलेर घच्घच्याउन सक्दैनन्। सबै मिलेर सहरको विकास र सरसफाइमा लाग्ने हो भने सहरको विकास गर्न धेरै समय लाग्दैन।

सहरमा कलाकारिता गर्न कत्तिको कठिन छ ?

सेवा सुविधा हेर्ने हो भने सहरमा कलाकारिता गर्न सजिलो छ। तर, कथावस्तुको हिसाबले गाउँ उत्तम हुन्छ। फिल्मकै कुरा गर्दा धेरैजसो काम सहरमै हुन्छन्। स्टुडियो पनि यही छन्। यो फिल्म बिक्ने ठाउँ पनि हो। अहिले गाउँमा पनि फिल्मी लहर चलेको छ। मानिसमा फिल्म हेर्ने प्रचलन बढेको छ।

सहरभित्र कतै घुम्न जानुप¥यो भने कहाँ जानुहुन्छ ?

मलाई त्यति धेरै घुम्न मन लाग्दैन। घुम्न जाउँ भने पनि काठमाडौंमा त्यस्तो रमणीय घुम्ने ठाउँ नै छैन। अलि फुर्सद भएको बेला बौद्धतिर निस्किन्छु।

सपिङ कहाँ जानुहुन्छ ?

मैले यो ठाउँमा सपिङ गर्छु भनेर भन्न सक्दिनँ। मैले जहाँ मिल्यो, राम्रो देख्यो त्यही सपिङ गर्छु। सपिङकै लागि भनेर समय र ठाउँ छुट्याउँदिनँ।

सहरको मिठो लाग्ने खानेकुरा ?

मलाई सहरको त्यस्तो लोभलाग्दो खानेकुरा केही छ जस्तो लाग्दैन। भोक अनुसारको खानेकुरा खान्छु। सामान्यतया दाल, भात तरकारी नै मनपर्छ।

मन भएर पनि पुग्न नपाएको सहर ?

त्यस्तो कुनै पनि ठाउँ छैन। कामको सिलसिलामा विभिन्न ठाउँ पुगिन्छ। त्यसैले घुम्ने विषयमा म त्यति रहर गर्दिनँ।

नागरिकका लागि शिवहरि घिमिरेले गर्नुभएको कुराकानी


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार ०९:०४