आज हावाहुरी र वर्षाको सम्भावना

काठमाण्डौ: आज उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम बदली भई अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्नेछ ।

अहिले प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार ०८:५५