एनआरएनए जापानले थप्यो सदस्यताको आबेदन दिने समयावधि

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले सदस्यताको आबेदन दिने समयावधि थप गरेको छ । ग्लोबल म्यानेजमेन्ट अफ इन्फर्मेसन सिस्टम (mis system ) मा आधारित सदस्यता लिने समय यही जुन १६ तारिख सम्मलाई कायम गरेको छ । यो सिस्टममा रहि जापानको सदस्यता लिएका पुराना पंजिकृत सदस्यहरुलाई पनि नयाँ सदस्यता अनिवार्य लिन एनआरएनएले अनुरोध गरेको छ ।

अध्यक्ष टासि वाङ्दी लामा र महासचिव बुद्धिराज घिमिरेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गत शनिबार जापानमा कृयाशिल संघ सस्थाका प्रमुखहरुसँगको छलफल पछीको सुझाब र क्षेत्रिय समितिहरुको अनुरोधका आधारमा समय सिमा बढाँईएको उल्लेख गरिएको छ ।

ग्लोबल सिस्टममा आधारित रही सदस्यता आबेदनमा सहजता र सहजीकरणको लागि आवश्यकता अनुसार घुम्ती टोली परिचालन गर्ने, रेसिडेन्स कार्डको बिकल्पमा जापानको ड्राईभिङ लाइसेन्सबाट पनि आबेदन गर्न सकिने विज्ञप्तीमा जनाइएको छ । हाल सम्म कायम रहेको एक जनाको बैंक खाताबाट एक जनाको मात्र रकम दाखिला गर्ने नियमलाई परीमार्जित गरी पाँच जना सम्मको रकम एकमुष्ठ पठाउन सकिने ब्यवस्था गरेको र रकम दाखिला गरेको रसिदमा पाँच जना सदस्यको नाम खुल्ने गरी लेख्न आग्रह गरिएको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १९:१२