सरकारविरुद्ध कडा आन्दोलनमा उत्रीने म्यानपावर व्यवसायीको चेतावनी

काठमाडौं : म्यानपावर व्यवसायीहरूले तीन महिनाभित्र आफूहरूका माग सम्बोधन नभए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन महिनाभित्र आफूहरूका सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो ।

संघले आफ्नो माग पुरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले जेठ १७ गतेबाट २३ गतेसम्म एकहप्ता वैदेशिक रोजगारीमा नेपाली कामदारलाई पठाउन रोक लगाएको छ । त्यसै कार्यक्रमअन्तर्गत सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका अध्यक्ष रोहन गुरुङले ‘फ्रि भिसा, फ्रि टिकट’ लगायतका निर्णयमा पुनर्विचार नगरे आफ्नो पेशा, व्यवसाय नै छाडेर सरकारविरुद्ध कडा आन्दोलनमा जानुपर्ने अवस्था आउने बताए ।

उनले सरकारले धरौटी राखेको आफ्नो पैसाको ब्याज नदिएको, मलेसियामा जान लगाइएको प्रतिबन्ध फुकुवा नगरेको तथा वैदेशिक रोजगार कम्पनीहरू मर्ज गर्दा सुविधा दिनुपर्ने माग वेवास्ता गरेपछि आन्दोलनमा उत्रनु परेको बताए । अध्यक्ष गुरुङले वार्षिक ५ लाखभन्दा बढी नेपाली युवालाई वैदेशिक रोजगारको व्यवस्था गरे पनि सरकारले आफूहरूको कामको सम्मान गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

यता, नेपाल राष्ट्र बैंकले भने वैदेशिक रोजगारमा जान रोकावट गर्ने संघको निर्णयले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाएको छ । राष्ट्र बैंकका निर्देशक नरबहादुर थापाले वार्षिक करिव ७ खर्ब ५५ अर्ब रूपैयाँ विप्रेषणको आप्रवाहलाई समेत संघको यो बन्दले प्रतिकूल असर पु(याइरहेको बताए । सरकारी तथ्यांक अनुसार नेपालमा हाल ४३ लाख नेपाली वैदेशिक रोजगारमा गएका छन् । उनीहरूले पठाएको विप्रेषणको रकमबाट मुलुक धानिएको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १३:४४