अफगानिस्तानद्वारा अष्ट्रेलियालाई २०८ रनको लक्ष्य

एजेन्सी :  अफगानिस्तानले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आफ्नो पहिलो खेलमा उपाधीको प्रमुख दाबेदार अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य दिएको छ । ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान ३८.२ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा समेटियो । तल्लो क्रममा लेग स्पिनर राशिद खानले ११ बलमा २ चौका र ३ छक्का सहित आक्रमक २७ रन जोडेपछि अफगानिस्तानले प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो ।

त्यस्तै नजीवुल्लाह जादरानले ४९ बलमा २ छक्का र ७ चौका सहित ५१ रनको महत्वपूर्ण योगदान दिए । नजीवुल्लाहलाई मार्कस स्टोइनिसले ३४ ओभरको पाँचौ बलमा विकेट कीपर एलेक्स केरिबाट क्याच आउट गराए । मुजिब उर रहमानले १३ रन जोडे ।

पहिलो ओभरको तेस्रो बलमै मिचेल स्टार्कले ओपनर मोहम्मद शहजादलाई शून्यमा बोल्ड आउट गरे । दोस्रो ओभरको दोस्रो बलमा प्याट कमिन्सले अर्का ओपनर हज्रतुल्लाह जजाईलाई विकेटकीपर एलेक्स केरीबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काए । १४ ओभरको पाँचौ बलमा एलेक्स केरीले हशमतुल्लाह शाहिदीलाई १८ रनमा स्टमपिङ आउट गरे । रामत शाहलाई एडम्म जम्पाले २० औं ओभरको दोस्रो बलमा स्टिभ स्मिथबाट ४३ रनमा क्याच गराउट गराएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

शाहले ६० बलमा ६ चौका प्रहार गरे । एक ओभरपछि मोहम्मद नाबी ७ रनमा रन आउट भएपछि अफगानिस्तान ७७-५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि कप्तान गुलवदीन नाइब र नजीवुल्लाह जादरानले ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए ।

यी दुईबीचको साझेदारी मार्कस स्टोनिसले ३४ ओभरको पहिलो बलमा कप्तान नाइबलाई केरीबाट क्याच गराउँदै तोडेका थिए । नाइबले ३३ बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडे । अष्ट्रेलियाका लागि एडम जम्पा र प्याटकमिन्सले समान ३ विकेट लिए । मार्कस स्टोइनिस २ र मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार २२:१९