सूर्यविनायक नगरपालिकाको एक बर्ष : भौतिक, वित्तीय र राजश्वको क्षेत्रमा उत्साहजनक प्रगति

भक्तपुर :  चालु आर्थिक बर्ष सकिन करिव डेढ महिना समयमात्र बाँकी रहँदा देशका थुप्रै स्थानीय तह आफैले बनाएको योजना र कार्यक्रमको लक्ष्यमा चुकिरहेकै अवस्थामा भक्तपुरको सूर्यविनायक नगरपालिकाले भने भौतिक, वित्तीय र राजश्वको क्षेत्रमा लक्ष्यअनुसार उत्साहजनक प्रगति गरेको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षको १० महिना अवधिमै बजेट कार्यान्वयनदेखि राजश्व संकलन, वडागत बजेट परिचालन, भौतिक निमार्णको काम, न्याय सम्पादन लगायतका काममा उत्साहजनक कार्यप्रगति देखाएको हो । नगरपालिकाले बजेट कार्यान्वयनको क्षेत्रमा चालु तर्फ ७९ प्रतिशत र पूँजीगत तर्फ ७१ प्रतिशत रकम खर्च गरेको छ । चालु आवकालागि नगरपालिकाले ७६ करोड ४५ लाख २७ हजार बजेट स्वीकृत गरेको थियो । नगरपालिकाले विनियोजन गरेको बजेट मध्ये चालु खर्च तर्फ ३९ करोड २४ लाख ४३ हजार र पूँजीगत तर्फ ३७ करोड ४५ लाख २७ हजार बजेट थियो ।

आर्थिक वर्ष २०७५/७६ मा १२ करोड १० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको सूर्यविनायक नगरपालिकाले चालु आवको वैशाख मसान्तसम्म ३९ करोड ५४ लाख ८९ हजार ९५७ आन्तरिक राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२७ प्रतिशत बढी हो ।
बिभिन्न ३७ वटा कानून निर्माण गरेको यो नगरपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण लगायतका क्षेत्रमा बनाएका बार्षिक लक्ष्यमा प्रगति हासिल गरेको छ ।

नगरपालिकाको बार्षिक आम्दानी

सूर्यविनायक नगरपालिकाले चालु आवको १० महिना अवधिमा आन्तरिक राजस्व २८ करोड ३५ लाख १४ हजार ९५७, संघको राजस्व वाँडफाँड ९ करोड १४ लाख ६५ हजार, प्रदेशको राजस्व वाँडफाँड २ करोड, नगद लागत साझेदारी रकम २ करोड ५ लाख, सामाजिक सुरक्षा भत्ता वापत ४ करोड ८६ लाख प्राप्त गरेको छ । यस्तै, संघको समानीकरण अनुदान १९ करोड ६१ लाख, प्रदेशको समानीकरण अनुदान ९२ लाख ८२ हजार, संघको सशर्त अनुदान १५ करोड २१ लाख ७३ हजार, प्रदेश सरकारको सशर्त अनुदान ५ करोड ८५ लाख, सडक वोर्डको रकम २५ लाख प्राप्त गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको ५३ लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममा १ करोड ५ लाख र अन्य आय १ करोड ५७ लाख गरी जम्मा ९१ करोड ७७ लाख ३५ हजार ७०७ आय नगरपालिकाको सञ्चित कोषमा आम्दानी दाखिला भएको छ । यसरी २०७६ साल वैशाख मसान्तसम्मको नगरपालिकाको आय स्वीकृत बजेटको १२० प्रतिशत आय प्राप्त गरेको नगरपालिकाका मेयर बासुदेव थापाले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार निमार्णमा नगरपालिकाको प्रगति

नगरपालिकाले संघीय सरकारका विभिन्न मन्त्रालय, विभाग तथा आयोजना परियोजना र प्रदेश सरकारको सहयोग तथा समन्वय र सहकार्यमा ८० करोडको लागतमा हनुमन्ते कोरिडोर निर्माण गरेको छ । यस्तै, १४ करोडको लागतमा २ किमि लामो पाण्डुबजार–कटुन्जे सडक कालोपत्रे, गुण्डु–पिपलडाँडा २ किमि सडक कालोपत्रे र ११ करोड ५७ लाख लागतको पँलासे– डोलेश्वर सडक निमार्ण गरेको जनाएको छ । नगर क्षेत्रका १८ वटा सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रस्तावको तयारी सहित बजेट माग, नगर क्षेत्रमा पुल तथा ट्रस व्रिजहरुको निर्माण, खानेपानी आयोजना तथा पानी ट्याङकी निर्माण, सामुदायीक स्कूल भवन निर्माण र मठ मन्दिरको पुनःनिर्माण, ढल निकास, सार्वजनिक पर्ति जग्गाहरुको सीमांकन र संरक्षण पनि नगरका कार्यप्रगति भित्र पर्दछन् ।

यस्तै, बाटोको मापदण्ड तथा सीमांकन सहितको साइडवाल निर्माण ढल निकास, विद्युत तथा टेलिकमका पोलहरु सार्ने तथा सानातिना भौतिक पूर्वाधारका काम पनि नगरले गरिरहेको छ ।

यस्ता छन् नगरभित्र भएका काम

आर्थिक वर्ष २०७५/७६ मा वडागत रुपमा १४७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकोमा ११३ वटा योजना १० महिना अवधिमा सम्पन्न भएका छन् भने २३ वटा योजना संझौता भई कार्यान्वयनको चरणमा रहेकोमा वाँकी ११ वटा योजना अझै कार्यान्वयन गर्न वाँकी देखिएको छ । वडागत बजेटको भौतिक तथा वित्तीय प्रगति वैशाख मसान्तसम्म ७२ प्रतिशत हाँसिल गरेको छ ।

१० बटै वडामा १ करोडको लागतमा निर्माणाधीन ठुला पूर्वाधार मध्ये वडा नं। ७ को घुम्ति–किवाचोक सडक कालोपत्र सम्पन्न भएको छ । ठुला पूर्वाधार मध्ये सीमा पर्खाल ७ किमि, वाटो ढलान २ किमि, खानेपानी पाइपलाइन विस्तार ८ किमि, भवन निर्माण र मर्मत १०, कुलो निर्माण तथा मर्मत ४ किमि, पहिरो नियन्त्रण ५, वाढी नियन्त्रण १, मन्दिर निर्माण तथा मर्मत १० वटा सम्पन्न भएको नगरपालिकाले जानकारी दिएको छ । नगरस्तरीय ठुला पूर्वाधारमा वैशाख मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति औषतमा ७० प्रतिशत भएको छ ।

नगपालिकाले बनाएको र सझौता भई कार्यान्वयनको चरणमा रहेका केही ठुला पूर्वाधार विकासका आयोजना कार्यान्वयनको चरणमा सीमा विवाद, विद्युत तथा टेलिफोनको पोलको कारण केही चुनौतीपूर्ण भए पनि नगरपालिकाको विशेष पहल र लागत साझेदारीमा असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मध्ये संघीय सांसद कोषको १ करोड ५ लाखमा नगरपालिकाको तर्फबाट लागत साझेदारी १ करोड ५७ लाख ५० हजार गरी २ करोड ६२ लाख ५० हजार लागतमा ५ किमी सडक कालोपत्रे, सडक ढलान २ सय मिटर, एउटा फुटसल निर्माण, एउटा सामुदायिक भवन, २ सय मिटर कूलो निर्माण, लगायतका काम गरेको मेयर थापाको भनाई छ ।

यस्तै, प्रदेश सरकारको सशर्त अनुदान रकम ८ करोड ३० लाख तथा नगरपालिकाको समपूरक लगानी १ करोड सहित कूल ९ करोड ३० लाख रकमबाट ३ सय मिटर सडक ढलान, पर्खाल सीमांकन ५ किमी, सडक चौडा २ किमी, विद्यालय भवन स्वास्थ्य भवन, सिरुटार तथा वालकोट खानेपानी २, ढल विस्तार २ किमी (धाराटोल) सडक कालोपत्रे (कटुन्जे सल्लाघारी) ३ सय मिटरका लागि योजना संझौता भएको पनि नगरपालिकाका मेयर थापाले जानकारी दिनुभयो ।

२ करोड ८७ लाख रकममा पक्की मोटरेवल पुल ६ वटा र ट्रस पुल २ वटा मध्ये मोटरेवल पुल ३ वटा सम्पन्न भएको नगरपालिकाले जनाएको छ । यस्तै, नगरपालिकाको स्थानीय साझेदारी कार्यक्रममा नगरपालिको ६० प्रतिशत र आम उपभोक्ताको नगद लागत साझेदारी ४० प्रतिशतबाट ५ करोड ५ लाखबाट ३० वटा योजना छनौट भएको २६ वटाको योजना संझौता भएकोमा १५ वटा सम्पन्न भएको पनि नगरपालिकाले जनाएको छ ।

सडक वोर्ड कार्यक्रमबाट ४५ लाख रकम प्राप्त भएकोमा नगरपालिकाबाट ३० लाख लागत साझेदारी गरी ७५ लाखबाट सडक पिच ७०० मिटर (कोलडाँडा गाम्चा सडक र जगाती– डोलेश्वर सडक) सडक ढलान २०० मिटर (गुंडु सडक) का लागि योजना संझौता भएकोमा भौतिक तथा वित्तीय प्रगती ३० प्रतिशत भएको नगरपालिकाले जानकारी दिएको छ ।

कृषि क्षेत्रमा नगरको लगानी

नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा दिएको जनाएको छ । नगरपालिकाले बार्षिक योजनामै कृषि क्षेत्रको विकासका लागि विभिन्न योजना बनाएको थियो । सोही योजना अनुसार तरकारी खेतीका लागि ११९ बटा टनेल, ६८०० केजी धानको बीउ, ३५ वटा साना सिचाई आयोजना, २५०० घर परिवारका लागि तरकारी विउ, १५ वटा हाते ट्याक्टर, २५ जना युवालाई कृषि अनुदान, २१०० घर परिवारका लागि मकैको बीउ वितरण गरेको छ ।

यस्तै, यो अवधिमा गाई तथा भैसीमा २२३४ कृत्रिम गर्भदान, नियमित पशु उपचार ७६५० र गोवर परीक्षण १०१ गरिएको जनाइएको छ । नगरपालिकामा रहेको कृषि तथा पशुपन्छी विकास शाखाले नीतिगत तथा कार्यगत प्रवन्ध मिलाएर कृषि तथा पशु सेवा केन्द्रबाट जनतालाई टोल र वस्तीमा नै सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

शिक्षा र स्वास्थ्यमा नगरको सहभागिता

नगरपालिकाले सामुुदायिक तथा संस्थागत विद्यालयहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विद्यालय मध्ये ५ वटाविद्यालयएक आपसमा गाभी सामुदायिक विद्यालयको संख्या ३४ कायम गर्ने काम गरेको छ । विद्यालय भर्ना अभियानबाट सामुदायिक विद्यालयहरुमा १०५० जना विद्यार्थी संख्या थप भएको, शिक्षकहरुको क्षमता तथा बृत्ति विकासकालागि लागि ५१ जना शिक्षकहरुको सरुवा, पदस्थापना तथा दरवन्दी मिलान गरिएको छ । रिक्त दरवन्दीमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक छनौट गरी करार सेवामा शिक्षण कार्यमा लगाउने गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा गरिव, पिछडिएका वर्ग तथा समुदायका वालवालिकाहरु १३३७ जनालाई निःशुल्क छात्रबृत्ति प्रदान गरिएको छ । सामुदायिक विद्यालयका शिक्षकहरु मध्ये ३९ जनालाई आधारभूत कम्प्यूटर सीप विकास तालीम प्रदान गरिएको र आर्थिक वर्ष २०७६/७७ को शैक्षिक क्यालेण्डर निर्माण गरी लागू गरिएको छ सूचना अधिकारी लिलादेवी प्रसाइले जानकारी दिनुभयो ।

योसँगै नगरपालिकाको सेवा सुविधालाई आधुनिक प्रविधि मैत्री बनाउन नगर कार्यपालिका, वडा कार्यालयहरु र सामुदायिक विद्यालयहरुमा ई–हाजिरी प्रणाली, सिसि टिभीबाट सेवा प्रवाहको अनुगमन, नगर डिजिटल प्रोफाइलको तयारी, मोवाईल एप्स, निःशुल्क वाइफाइ, राजस्व तथा लेखा प्रणाली कम्प्यूटकृत गर्नेलाई तिव्रता दिएको पनि सूचना अधिकारी प्रसाइ बताउँनुहुन्छ

यद्यपी, नगरपालिकामा पुरुष र महिला साक्षरता प्रतिशतको अन्तर ठूलो देखिएको छ । तर, नगरपालिकाले आफ्नो बार्षिक नीति, योजनामा त्यो प्रतिशत कम गर्ने कुनै योजना भने अघि सारेको देखिदैन । पछिल्लो जनगणना अनुसार सूर्यविनायक नगरपालिकामा पूरुष साक्षरता प्रतिशत ९१।३ र महिला साक्षरता प्रतिशत ७२।५ प्रतिशत रहेको छ । यो अन्तरलाई कम गर्ने योजना भने नगरले बनाएको देखिएको छैन ।

यी हुन् स्वास्थ्य क्षेत्रमा भएका काम

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी वनाउन विशेष स्वास्थ्य सेवा कार्यक्रम लागु नै गरेको छ । कडा रोग लागेका विपन्न नगरिकका लागि १ लाखको औषधी उपचार १८ जना लाई सिफारिश, ६ वटा स्वास्थ्य संस्थाबाट प्याथोलोजी सेवा सहित निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, १० वटै वडामा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन गरेको छ ।

बृहत घुम्ती शिविर मार्फत वडा नं। ७, ९ र १० वडामा विशेषज्ञ सेवा सहित १९८८ जना नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण, वडा नं। ७ र वडा नं। ९ लाई लक्षित गरी थप दुईवटा स्वास्थ्य केन्द्रको निर्माण, दधिकोटमा ५० लाखको लागतमा सामुदायिक अस्पतालको निर्माण गरिएको जनाइएको छ ।

आवास पूर्ननिमार्णमा तदरुपता

नगरपालिकाले २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षतिगस्त आवासको पुनः निर्माणका लागि विषेश तदरुपता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा समेत यस्ता घर निर्माणका लागि लाग्ने राजस्व शत प्रतिशत छुट गरेको थियो । नगरपालिकामा रहेका जम्मा सूचीकृत ७४१६ लाभग्राही मध्ये पहिलो किस्ता लिने ६८०८, दोश्रो किस्ता २९८६ र तेश्रो किस्ता २७३२ जनाले सुविधा पाएको जनाइएको छ । वास्तविक भूकम्प पीडित भई लाभग्राहीको सूचीमा सूचीकृत हुन छुट भएकाहरुका लागि समेत नगरपालिकाको विशेष पहलमा यस्तो छुट दर्ताका लागि यही महिनामा अभियान सञ्चालनमा समेत गरेको छ । यस्तै, नगर प्रमुखको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरि विपद ब्यवस्थापन कोषमा १ करोड रकम जम्मा गरेको छ ।

बातावरणमैत्री नगर बनाउने अभियान

नगर क्षेत्रलाई स्वच्छ, सफा र वातावरण मैत्री नगरको रुपमा कार्यान्वयन गर्दै लैजान नगर प्रमुखको संयोजकत्वमा ३५ सदस्यीय एम वास समिति गठन गरिएको पनि नगरको भनाइ छ । नगरपालिका भित्रका मठ मन्दिर तथा भित्री वाटाहरुमा ६७ वटा सोलार वत्ती, सामुदायिक विद्यालयहरुमा सोलार लाइट वितरण गरिएको छ । हनुमन्ते सफाई अभियानको ६४ औं हप्ता पुरा भएको छ । प्रत्येक वुधावार अरनिको राजमार्ग सफाई अभियानमा निरन्तरता कायम रहेको छ । निजी क्षेत्रसँगको सहकार्यमा घर दैलोबाटै फोहोर संलकन गर्ने प्रवन्ध मिलाइएको छ ।

स्वरोजगार बनाउने नगरको अभियान

सूर्यविनायक नगरपालिकाले विभिन्न सीप तथा रोजगारमुलक कार्यक्रम सञ्चालन गरेर युवा, महिलाहरुलाई स्वरोजगार वनाउने अभियानलाई समेत तिव्रता दिएको छ । यसै अभियान अनुसार प्रधाानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने, सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गर्ने काम पनि गरेको नगरपालिकाले जनाएको छ । यो कार्यक्रमवाट सयौ युवा तथा महिलाहरुले तालिम प्राप्त गरेका छन् ।

सामाजिक क्षेत्रमा सहभागिता

नगरपालिकाले आफूलाई विभिन्न हिसावले सामाजिक काममा समेत अग्रसर बनाएको छ । नगरपालिकाले आफ्नो नगरसभावाटै निर्णय गरेअनुसार जेष्ठ नागरिक परिचय पत्र, अपाङ्ग परिचय पत्र वितरण लगायतका काम पनि नगरपालिकावाट भइरहेका छन् । साथै, विभिन्न व्यक्तिहरुलाई सम्मान, पुरस्कृत गर्ने काम पनि भइरहेका छन् । यस्तै, पसलहरुको अनुगमन गर्ने, मासु पसलका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने, काम पनि नगरमा भइरहेका छन् ।

न्याय सम्पादनमा नगरपालिका

नगरपालिकाले उप प्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिमा हालसम्म ७९ बटा उजुरीहरु दर्ता भएकोमा ३२ वटा प्रक्रियामा, तामेली १४, मेलमिलाप १९, न्यायीक निरुपण ३ र अदालत पठाएको ११ वटा रहेको जनाएको छ । न्याय सम्पादनलाई प्रभावकारी बनाउन र विवादको निरुपण वस्तीतहमा नै हुन सकोस भनी ३४ जनालाई सामुदायीक मेलमिलाप तालिम प्रदान गरिएको जनाइएको छ ।

भवन बनाउँदै नगरपालिका

सूर्यविनायक नगरपालिकाले प्रशासनिक भवन निमार्ण गर्ने तयारी गरेको छ । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ३५ करोड लागतको विस्तृत परियोजना प्रस्ताव स्वीकृत भएको छ । त्यस्तै, वडा नं। ७ को वडा कार्यालयको भवनमा तला थप तथा वडा नं. १० र ६ को वडा कार्यालय भवन निर्माणको प्रस्ताव तयार गरेको जनाएको छ । वडा नं। ९ को वडा भवनको क्षमता विस्तार र प्रवलीकरणको कार्य गरिएको, नगरपालिका तथा वडा कार्यालयहरुको भवन निर्माणमा जिल्ला समन्वय समिति, संघ र प्रदेश सरकारसँग लगानीमा साझेदारी गर्ने रणनीतिगत ब्यवस्था मिलाइएको पनि नगरपालिकाले जनाएको छ ।

आगामी बर्षका लागि बजेट सीमा निर्धारण

सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक बर्षका लागि पनि विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका लागि श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको वैठकबाट १ अर्व ३० करोडको बजेट पेश गरेको छ ।

स्रोत : स्थानीय तहको मात्र खवर प्रकाशित गर्दै आएको ७६१ खबर


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार ११:३१