एनआरएनए यूकेमा विधानविपरीत प्रमाणीकरण गरिएका सदस्यता रद्ध गर्न अध्यक्षका प्रत्यासी श्रेष्ठको माग

लन्डन। गैर आवासीय नेपाली संघ यूकेको विधानविपरीत सदस्यता प्रमाणीकरण गरिएको भन्दै आलोचना शूरु भएको छ । सदस्यता प्रमाणीकरण नियमविपरित तथा अवैधानिक रुपमा भएको भन्दै अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले विधानविपरीत प्रमाणीकरण गरिएका सदस्यतालाई रद्ध गर्न माग गर्नु भएको हो । एनआरएनए यूकेमा ११ हजार ६ सय जनाको सदस्य प्रमाणीकरण भएको छ । त्यसमध्ये धेरै सदस्यहरु नियमविपरीत प्रमाणीकरण गरिएको श्रेष्ठको दावी छ ।

श्रेष्ठले निर्वाचनलाई नै प्रभावित पार्ने किसिमका एकै प्रकारका इमेलहरु लगायतका थुप्रै नियम विपरित आएका फर्महरू प्रमाणीकरण गर्ने कार्य भएको बताउँदै भन्नु भयो, ‘संघको विधान र नियमावली मिचेर अवैधानिक रुपमा प्रमाणीकरण भएका सबै सदस्यता फर्महरूलाई बिना शर्त रद्ध गर्न म जोडदार माग गर्दछु ।’

सदस्यता प्रमाणीकरणमा नियमविपरित भएका प्रमाणहरू आफूसँग सुरक्षित रहेको र सम्बन्धित निकायमा ती प्रमाणहरु पठाइसकेको बताउँदै आवश्यक परेमा जुनसुकै बेला सार्वजनिक गर्न तयार रहेको बताउनु भयो । ‘सदस्यता प्रमाणीकरण जस्तो गम्भिर र संवेदनशील प्रक्रियामा समेत नियम मिचेर, षड्यन्त्रपूर्ण तरिकाले गरिएका कर्तुतहरू लुकाउनकै लागि प्रमाणिकरणको प्रक्रियामा अन्य उम्मेद्वारहरुलाई समावेश गर्ने तर आफूलाई मात्रै वञ्चित गर्ने गरिएको रहेछ भन्ने अहिले प्रमाणित भएको छ’, उहाँले भन्नु भयो।

एक वक्तव्य जारी गर्दै श्रेष्ठले सदस्यता प्रमाणीकरणसम्बन्धी नियमावलीमा पासपोर्ट, ड्राइभिङ लाइसेन्सको फोटोहरूलाई नै कांटछांट (क्रप) गरेर फर्ममा प्रयोग गर्न नपाइने, ठेगाना नभएका फर्महरुलाई प्रमाणीकरण नगर्ने भन्ने लगायतका बुंदा स्पष्टसंग व्यवस्था गरिएको हुँदाहुँदै पनि पासपोर्ट, ड्राइभिङ लाइसेन्स लगायतमा भएका फोटोहरूलाई नै कांटछांट गर्दै फोटोहरू प्रयोग गरिएका फर्महरू, ठेगाना नभएका फर्महरु, बालबालिकाको फोटो, कार्टूनको फोटो, घरको फोटो, बास्केट बल खेलेको फोटोहरू लगायतका प्रोफाइल पिक्चरमा राखिएका सदस्यता आवेदनहरु समेत प्रमाणीकरण गरिएको दावी  छ ।

यसरी बनाइएका सबै सदस्यहरूलाई १ हप्ताको समय दिएर प्रोफाइल पिक्चर परिवर्तन गराएर गल्ती सच्याउने मौका मिलाउन सकिने तर त्यसो नगरी बलपूर्वक नियम मिचेरै निर्वाचनमा सहभागी गराउने कार्य गरिए गलत र अवैधानिक कार्यविरुद्ध सबै बाटो र माध्यमहरुबाट लड्दै बेलायती अदालतको ढोका ढक्काउनसम्म बाध्य हुने चेतावनी श्रेष्ठले दिएका छन् ।


प्रकाशित | २६ असार २०७८, शनिबार १४:५६