दक्षिण अफ्रिकालाई इङ्ल्यान्डले दियो ३१२ रनको लक्ष्य

एजेन्सी :  अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट ब्याटिङमा एकदिवसिय विश्वकप क्रिकेटको उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य दिएको छ ।

ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रनको महत्वपूर्ण योगदान दिए । ४९ औं ओभरको अन्तिम बलमा लुन्गी एन्गीडीले हासिम अमलाबाट क्याच गराएपछि शतक बनाउन चुकेका उनले ७९ बलको सामना गर्दै ९ चौका प्रहार गरे ।

इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमै ओपनर जोनी बेयरस्टोलाई शून्यमा गुमाएको थियो । ओपनर जोसन रोयले ५३ बलमा ८ चौका सहित ५४ रन जोडे । रोयलाई १९ ओभरको चौथो बलमा एन्डिले फेलुक्वायोले कप्तान फाप डु प्लेसिसबाट क्याच गराउँदै पेभिलिएन फर्काए । लगतै २० ओभरको पहिलो बलमा कागिसो रबाडाले जेपी ड्यूमिनीबाट क्याच गराउँदै जो रुटलाई ५१ रनमा आउट गरे । रुटले ५९ बलमा ५ चौका प्रहार गरे ।

रुट र रोयले दोस्रो विकेटका लागि १ सय ६ रनको शतीकय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रुट र रोय आउट भएपछि दवावमा परेको इंग्ल्यान्डलाई चौथो विकेटका लागि कप्तान इओन मोर्गन र बेन स्टोक्सले पनि १ सय ६ रनको साझेदारी गर्दै दक्षिण अफ्रिका बलरलाई दबावमा राखे । यी दुईबीचको साझेदारी तोड्ने क्रममा ३७ ओभरको पाँचौ बलमा इमरान ताहिरको बलमा ठूलो शट खेल्ने धुनमा मोर्गनलाई एडेन मार्करामले ५७ रनमा क्याच आउट गराए ।

मोर्गनले ६० बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ४२ ओभरको दोस्रो बलमा लुन्गी निडीले जस बटलरलाई १८ रनमा बोल्ड आउट गरे । ४४ ओभरको अन्तिम बलमा निडीलेनै मोईन अलीलाई फाफ डु प्लेसिसबाट बाउन्ड्रीलाईन नजिकै उत्कृष्ट क्याच गराउँदै ३ रनमा पेभिलिएन फकाए । ४८ ओभरको तेस्रो बलमा क्रिस वोक्स ठूलो शट खेल्ने धुनमा १३ रनमा क्याच आउट भए । लियाम प्लन्केट ९ र जोफ्रा आर्चर ७ रनमा अविजित रहे ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १९:४७